अमेरिकामा नागरिकताको अन्तर्वार्ता दिन पुगेका  क्यान्सर पीडित ७६ वर्षीय वृद्ध अध्यागमन नियन्त्रणमा,नियमित उपचार प्रभावित


प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार

तस्वीर : आइस

प्रोस्टेट क्यान्सरको चौथो चरण र श्वासप्रश्वास सम्बन्धी गम्भीर रोगबाट ग्रसित ७६ वर्षीय लारेटो जाभार दुई महिनाभन्दा बढी समयदेखि अमेरिकी अध्यागमन अधिकारीहरूको नियन्त्रणमा रहेका छन्। वासिङ्टन राज्यको टाकोमास्थित अध्यागमन केन्द्रमा थुनामा राखिएका कारण उनले नियमित पाउँदै आएको क्यान्सरको महत्त्वपूर्ण उपचार मिस गर्नुपरेको उनका परिवार र अधिकारकर्मीहरूले बताएका छन्।

फिप, वासिङ्टनका स्थायी बसोबासी जाभारलाई गत जुन २३ मा अमेरिकी नागरिकताको अन्तर्वार्ताका क्रममा पक्राउ गरिएको थियो। उनकी छोरी डेजी जाभारका अनुसार उनी गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन्।

सोमबार भएको एक सुनुवाइमा अध्यागमन न्यायाधीशले उनको मुद्दाको म्याद सेप्टेम्बर २० सम्म बढाएपछि उनी थप चिन्तित बनेका छन्। म्याद थपिएका कारण उनले सेप्टेम्बर ४ मा तय भएको क्यान्सर उपचारको तेस्रो अपोइन्टमेन्ट गुमाउने निश्चित भएको छ।

अध्यागमन आइसका प्रवक्ताका अनुसार सन् १९९५ मा अमेरिका आउने क्रममा जाभारले फिलिपिन्समा भएको एक आपराधिक घटनाको विवरण लुकाएका थिए। सन् १९७० को दशकमा भएको एक झगडामा एक व्यक्तिको मृत्यु भएपछि उनी तीन वर्ष जेल बसेर पेरोलमा रिहा भएको पाइएकाले उनी अमेरिकामा रहन अयोग्य रहेको अध्यागमनको दाबी छ।

तथापि, उनका समर्थक र ‘ताङ्गोल माइग्रान्ट मुभमेन्ट’ नामक संस्थाले जाभारलाई तत्काल मानवीय आधारमा रिहा गर्न माग गरिरहेका छन्। सन् १९९५ देखि अमेरिकामा बसोबास गर्दै आएका उनी सोझो नियतले नागरिकताको अन्तर्वार्तामा जाँदा पक्राउ परेका थिए। उनका पक्षधरहरूले सेप्टेम्बर ४ को उपचारअघि नै उनलाई रिहा गर्न र सिगलस्थित फिलिपिन्स महावाणिज्य दूतावासलाई आफ्ना नागरिकको रक्षाका लागि हस्तक्षेप गर्न आग्रह गर्दै हस्ताक्षर अभियान समेत चलाएका छन्।

जाभारकी छोरीले आफ्ना बुबालाई समयमै खाना र औषधि उपलब्ध गराइनुपर्ने र अध्यागमनले मानवीय व्यवहार गर्नुपर्ने बताउँदै सेप्टेम्बर २० सम्ममा उनी रिहा हुने आशा व्यक्त गरेकी छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com