अमेरिकामा अङ्ग्रेजी नजान्नेलाई व्यावसायिक चालक अनुमतिपत्र बाँडेको भन्दै २७० ड्राइभिङ स्कुल बन्द
प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार
Photo: Giulia Lorenzon/Unsplash
अमेरिकी यातायात मन्त्री सान डफीले सोमबार देशभरका २७० वटा व्यावसायिक चालक अनुमतिपत्र सम्बन्धी तालिम केन्द्रहरू (ड्राइभिङ स्कुल) बन्द गराउने घोषणा गरेका छन्। अङ्ग्रेजी बोल्न नजान्ने कागजातविहीन आप्रवासीहरूलाई गाडी चलाउन योग्य बनाएको र मापदण्ड विपरीतका पूर्वाधार सञ्चालन गरेको आरोपमा ती संस्थामाथि कारबाही गरिएको हो।
होमल्यान्ड सेक्युरिटी सेक्रेटरी मार्कवेन मुलिन र सङ्घीय सरकारी वकिलहरूसँग डेट्रोइटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री डफीले भने, “यदि तपाईं यहाँ गैरकानुनी रूपमा हुनुहुन्छ, भाषा बोल्न जान्नुहुन्न र राम्रोसँग तालिमप्राप्त हुनुहुन्न भने, तपाईंलाई ठूला ट्रकहरू चलाएर अमेरिकी सडक तथा नागरिकलाई जोखिममा पार्ने अधिकार छैन।”
यातायात मन्त्रालयले ११० वटा तालिम केन्द्रहरूलाई सङ्घीय दर्ता सूचीबाट हटाउँदै उनीहरूका सम्पूर्ण काम-कारबाही तुरुन्त रोक्न निर्देशन दिएको छ। अध्ययनका क्रममा ती केन्द्रहरूले अङ्ग्रेजी बोल्न असमर्थ ५,००० भन्दा बढी प्रशिक्षार्थीहरूलाई पास गराएको पाइएको थियो। त्यसैगरी, बाँकी १६० वटा केन्द्रहरूलाई भने भौतिक मापदण्ड र पर्याप्त तालिम स्थल नपुगेको भन्दै निलम्बन गरिएको छ।
मन्त्री डफीका अनुसार सन् २०२५ को जनवरी यता अङ्ग्रेजी बोल्न नसक्ने चालकहरूले गराएका सडक दुर्घटनामा परी २३९ जनाको मृत्यु भइसकेको छ। यीमध्ये अधिकांश अनुमतिपत्र क्यालिफोर्निया राज्यबाट जारी भएका थिए।
सङ्घीय मोटर क्यारियर सुरक्षा प्रशासक डेरेक बार्सले केही पूर्वाधारहीन संस्थाहरूका कारण भएका सडक दुर्घटनाहरूबारे जानकारी दिएका थिए। त्यसैगरी, होमल्यान्ड सेक्रेटरी मुलिनले अघिल्लो प्रशासनको कमजोरीका कारण यस्ता समस्या आएको दाबी गर्दै, झुटा कागजात र घूसखोरीका आधारमा अनुमतिपत्र उपलब्ध गराउने कार्यमा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।





