अमेरिकाबाट भूलवश देशनिकाला गरिएका अमेरिकी नागरिक पाँच महिनापछि स्वदेश फर्किए


प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार

फोटो: होमल्याण्ड सेक्युरिटी

एक २५ वर्षीय अमेरिकी नागरिकलाई उनी अमेरिकी भएको दाबी गर्दागर्दै पनि भूलवश मेक्सिको देशनिकाला गरिएको थियो। उनका वकिलहरूले उनी अमेरिकी नागरिक भएको नयाँ प्रमाणहरू पेश गरेपछि र संघीय सरकारसँग सम्झौता भएपछि उनी आइतबार पुनः अमेरिका फर्किएका छन्।

ब्रायन जोसे मोरालेस गार्सियालाई गत अप्रिल महिनामा टेक्सासको फ्रेडरिक्सबर्ग  नजिकै प्रहरीले गाडी रोकेर जाँच गर्ने क्रममा पक्राउ गरेको थियो। आइसलाई बोलाइएपछि, मोरालेसले आफू डेन्भरमा जन्मेको र ओस्टिनमा उनको जन्मदर्ता तथा सामाजिक सुरक्षा नम्बर रहेको लगातार बताएका थिए। तर, डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले उनको कुरा अस्वीकार गर्दै उनी गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेको आरोप लगाएर मेक्सिको पठाएको थियो।

पछि उनका वकिलहरूले अदालतमा थप अस्पतालका कागजातहरू, प्रत्यक्षदर्शीका शपथपत्रहरू र कोलोराडोको प्रमाणित जन्मदर्ता पेश गरे। त्यसपछि जस्टिस डिपार्टमेन्टले मुद्दाको टुंगो नलागुञ्जेल उनलाई अमेरिका प्रवेश गर्न अनुमति दिएको हो।

मोरालेससँग मेक्सिकोको पनि नागरिकता छ। मेक्सिकोको पहिचान पत्रमा नामको हिज्जे र जन्ममिति फरक परेको थियो, जुन उनका अनुसार स्थानीय कर्मचारीको गल्तीले गर्दा भएको थियो। सन् २०१५ देखि २०२० को बीचमा करिब ७० जना सम्भावित अमेरिकी नागरिकहरू भूलवश देशनिकाला भएको सरकारी तथ्याङ्कले देखाउँछ।हाल मोरालेसले दायर गरेको नागरिक अधिकारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com