अमेरिकामा सुरक्षा परिचालनका लागि आइसले २० लाख डलरसम्मका ‘रोबोट कुकुर’ खरिद गर्दै
प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार
Photo: Mika Baumeister/Unsplash
आइसले आफ्ना एजेन्टहरूको परिचालन र सुरक्षा प्रवर्द्धनका लागि २० लाख अमेरिकी डलर सम्मका ‘रोबोट कुकुर’ खरिद गर्ने योजना बनाएको छ। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको खरिद योजना कागजात अनुसार एजेन्सीले बस्टन डाइनामिक्स कम्पनीको ‘स्पट’ रोबोट र त्यससँग सम्बन्धित उपकरणहरू खरिद गर्न १ मिलियनदेखि २ मिलियन डलरसम्म खर्च गर्न लागेको हो।
एक वरिष्ठ डिएचएस अधिकारीले सम्भावित खरिद योजनाको पुष्टि गर्दै यी रोबोटहरूलाई सर्वसाधारण वा आप्रवासीहरूलाई पक्राउ गर्नका लागि प्रयोग नगरिने स्पष्ट पारेका छन्।
होमल्यान्ड सेक्युरिटीको सूचना अनुसार यी रोबोटहरूले टोलीलाई जोखिमपूर्ण वातावरणमा निरीक्षण, परिस्थितिगत सचेतना र खतराको मूल्याङ्कन गर्न मद्दत गर्नेछन्। यस प्रविधिले एजेन्टहरूलाई प्रत्यक्ष खतरामा नपारी,सीमित, अस्थिर वा पहुँचयोग्य नभएका स्थानहरूमा पहिले रोबोट पठाएर वस्तुस्थिति बुझ्न सकिनेछ।
बस्टन डाइनामिक्सका अनुसार यी रोबोटमा विशेष क्यामेरा, ग्यास, भाइब्रेसन र विकिरण पहिचान गर्ने सेन्सरहरू जडान गरिएका हुन्छन्।
बस्टन डाइनामिक्सले आफ्नो नैतिक नीतिमा आफ्ना रोबोटहरूलाई हतियार वा स्वचालित आक्रमणकारी उपकरणका रूपमा प्रयोग गर्न कडा प्रतिबन्ध लगाएको छ। कम्पनीले भनेको छ, “यदि हाम्रा उत्पादनहरू हानी पुर्याउने कार्यमा प्रयोग भएको पाइएमा हामी त्यसलाई रोक्न आवश्यक कदम चाल्नेछौँ।”
यी रोबोट प्रविधिहरू यसअघि नै लस एन्जलस र न्युयोर्क प्रहरी विभाग लगायतका कानून कार्यान्वयन निकायहरूले प्रयोग गर्दै आएका छन्। सन् २०२४ मा अमेरिकी सेक्रेट सर्भिसले राष्ट्रपति डोनाल्ड ट्रम्पको मार-ए-लागो निवासको सुरक्षाका लागि पनि यस्तै रोबोट कुकुरहरू तैनाथ गरेको थियो।
आइसले हालै एजेन्टहरूका लागि २० मिलियन डलर बराबरका ‘इलेक्ट्रिक नक-आउट ग्लोभ्स’ खरिद गर्ने विवादित निर्णय गरेलगत्तै यो नयाँ योजना अघि सारेको हो। ह्वाइट हाउसका सीमा मामिला प्रमुख टम होमनले एजेन्टहरूलाई ज्यान लिने खालको बल प्रयोग गर्नबाट रोक्न पञ्जा आवश्यक रहेको भन्दै निर्णयको बचाउ गरेका थिए।
तथापि, डेमोक्रेटिक सिनेटरहरूको एक समूहले आइसका कार्यवाहक निर्देशक डेभिड भेन्चुरेलालाई पत्र लेख्दै यस्ता सम्झौताहरू रद्द गर्न र त्यसको साटो तनाव कम गर्ने प्रविधि, तालिम र जवाफदेहितामा लगानी गर्न आग्रह गरेका छन्।





