भोटेकोशी बाढी : तीन अमेरिकीसहित २६१ विदेशी पर्यटकको उद्धार, ३२० अझै बेपत्ता
प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार
भोटेकोशीको बाढीले नुवाकोटको त्रिशूली बजारमा ठूलो क्षति पुर्याएपछि सुरक्षाकर्मीले जोखिम मोलेर खोजी, उद्धार तथा राहत कार्य जारी राखेका छन् । प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत उद्धार सामग्री र जनशक्ति परिचालन गरिएको छ । तस्वीर : प्रदीप राज वन्त/नुवाकोट
गत बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका २६१ जना विदेशी नागरिक तथा पर्यटकको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये सबैभन्दा धेरै १६७ जना भारतीय नागरिक रहेका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार चीनका ४०, युक्रेनका ८, जर्मनीका ४, माल्टाका ४ र अमेरिकाका ३ जना पर्यटकको उद्धार गरिएको छ । यस्तै इटाली, रुस, स्पेन, स्विट्जरल्यान्ड र टर्कीका २-२ जना तथा बेल्जियम, बुल्गेरिया, ओमान र पोर्चुगलका १-१ जना उद्धार भएका छन् । पहिचान नखुलेका अन्य २१ जनाको पनि उद्धार गरिएको छ ।
बाढीका कारण ३२० जना विदेशी पर्यटक भने अझै सम्पर्कविहीन रहेका छन् । रसुवा, नुवाकोट, धादिङ र गोरखाका क्षेत्रमा हराइरहेका उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको बोर्डले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी, सुरक्षा निकाय र स्थानीय प्रशासनको संयुक्त समन्वयमा खोजी तथा राहत कार्य तीव्र पारिएको छ ।
यस्तै, रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६७५ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट मृतकहरूको शव फेला परेको छ ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा २४६ र नवलपरासी पूर्वमा १६५ जनाको शव भेटिएको छ । यस्तै नवलपरासी पश्चिममा ६३, गोरखामा ५७, नुवाकोटमा ५१, धादिङमा ४५, तनहुँमा ३५ र रसुवामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ।
बाढीपछि हालसम्म दुई हजार ४९८ जना अझै सम्पर्कविहीन रहेका छन्। हराइरहेकाहरूमध्ये नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना सुरक्षाकर्मी समेत छन्।
यसैबीच, प्रभावित क्षेत्रहरूबाट हालसम्म ७ हजार ५१४ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।





