नेपालमा बाढीपछि १,९२४ जना अझै सम्पर्कविहीन, विदेशमा बस्ने नेपाली १२७


प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेहरूको सङ्ख्या तीव्र रूपमा बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार स्थानीय समय अनुशार शुक्रबार साँझ ७ बजेसम्म सम्पर्कविहीन हुनेको सङ्ख्या १,९२४ पुगेको छ।

बाढीका कारण हालसम्म ५७९ जनाको शव फेला परेको र १०१ जना घाइते भई अस्पतालमा उपचाररत रहेको प्राधिकरणले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सम्पर्कविहीन १,९२४ जनामध्ये १,१३३ जना जलविद्युत् आयोजनाका कामदार, ५१७ जना विदेशी नागरिक र १२७ जना नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली रहेका छन्।

प्राधिकरणको प्रतिवेदन अनुसार खोज तथा उद्धारमा खटिएका नेपाल प्रहरीका २८ जना, नेपाल सेनाका ४५ जना र सशस्त्र प्रहरीका १३ जना जवान अझै सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा बढी २३३ जना, नवलपरासी पूर्वमा १५४ जना र गोरखामा ४६ जनाको शव फेला परेको छ।

प्रभावित क्षेत्रमा १५,४३१ जना सुरक्षाकर्मी परिचालन गरिएको र हालसम्म १६ वटा हेलिकोप्टरमार्फत ४,४५१ जनाको उद्धार गरिएको जानकारी प्राधिकरणले दिएको छ। बाढीका कारण १९८ वटा टेलिफोन टावरमा क्षति पुगेकोमा १४५ वटा पुनः सञ्चालनमा ल्याइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यसबीच, प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार फेसबुकमार्फत विपद्प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत र पुनःस्थापनालाई सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन्।

“सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवनरक्षा र सुरक्षित भविष्यका लागि हृदयदेखि प्रार्थना गर्दछु,” उनले लेखेका छन्। “यस कठिन घडीमा विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ। उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ।”

प्रधानमन्त्री शाहका अनुसार खोज तथा उद्धारका लागि १५,४३१ जना सुरक्षाकर्मी परिचालन गरिएका छन्। तीमध्ये नेपाल प्रहरीका ४,४७३, नेपाली सेनाका ६,७५५ र सशस्त्र प्रहरी बल नेपालका ४,२०३ जना रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरलगायत प्रभावित क्षेत्रमा खटिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका अनुसार हालसम्म ४,४५१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये जलविद्युत् सुरुङबाट १९१ जना र शुक्रबार हवाई उद्धारमार्फत ५१७ जना रहेका छन्। नेपाली सेना तथा निजी क्षेत्रका १६ वटा हेलिकोप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर हवाई उद्धार उडान सञ्चालन भइरहेको उनले बताएका छन्। हालसम्म ९९ वटा हवाई उडान भएका छन्।

प्रधानमन्त्री शाहले ३२ ट्रक खाद्य तथा गैरखाद्य राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको तथा हेलिकोप्टरबाट छवटा उडानमार्फत पनि राहत सामग्री पुर्‍याइएको जानकारी दिएका छन्। प्रभावित क्षेत्रमा सञ्चार सेटसमेत पठाइएको उनले उल्लेख गरेका छन्।

उनले सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई उच्च प्राथमिकता दिइएको बताएका छन्। अपर त्रिशूली जलविद्युत् आयोजना, रसुवागढी जलविद्युत् केन्द्र तथा अन्य जोखिमयुक्त सुरुङमा खोज तथा उद्धार कार्य जारी रहेको र आवश्यक विशेष उद्धार उपकरणसमेत परिचालन गरिएको उनको भनाइ छ।

खोजी कार्य रसुवादेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म फैलिएको त्रिशूली–नारायणी नदी करिडोरमा विस्तार गरिएको प्रधानमन्त्री शाहले बताएका छन्। बेपत्ता नागरिक तथा शवको खोजीका लागि तल्लो तटीय क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको उनले उल्लेख गरेका छन्।

उनका अनुसार हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार वा पहिचान भएको छ। विदेशी नागरिकको खोज, उद्धार तथा पहिचानका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावास र परिवारसँग समन्वय गर्न आपत्कालीन नियन्त्रण कक्ष सञ्चालन गरेको उनले बताएका छन्।

प्रधानमन्त्री शाहले विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचारलाई भ्रामक बताएका छन्। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार र राहतका लागि आवश्यक सामग्री तथा सहयोगबारे निरन्तर समन्वय भइरहेको उनको भनाइ छ।

उनले भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमको निरन्तर निगरानी भइरहेको बताए। सम्भावित जोखिमका क्षेत्रका लागि पूर्वसूचना तथा सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको र दुई लाखभन्दा बढी एसएमएस अलर्टमार्फत पूर्वसूचना पठाइएको उनले जनाएका छन्।

प्रधानमन्त्रीका अनुसार गृह मन्त्री प्रभावित जिल्लामा स्थलगत रूपमा उपस्थित भई सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेका छन्। सडक सम्पर्क पुनःस्थापनाका लागि वैकल्पिक मार्ग सञ्चालनमा ल्याई साना चारपाङ्ग्रे सवारी सञ्चालन सुरु गरिएको उनले बताएका छन्। काठमाडौं–मुग्लिन सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको पनि उनको भनाइ छ।

रसुवालाई वैकल्पिक सडकमार्फत पुनः सडक सञ्जालसँग जोडिएको प्रधानमन्त्री शाहले बताएका छन्। काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको वैकल्पिक सडक साना चारपाङ्ग्रे सवारीका लागि सञ्चालनमा आएको उनले उल्लेख गरेका छन्। क्षतिग्रस्त पुलमा बाइपास निर्माण सुरु भएको र नियमित सडक सम्पर्कका लागि भारत तथा चीनबाट ४८ मिटर लम्बाइका १० वटा बेली ब्रिज उपलब्ध गराउन औपचारिक पहल गरिएको पनि उनले बताएका छन्।

प्रधानमन्त्री शाहका अनुसार नुवाकोटमा खानेपानीका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडका चार वटा पानी ट्याङ्कर परिचालन गरिएका छन्। सुरक्षित खानेपानीका लागि ९०० केजी ब्लीचिङ पाउडर प्रभावित क्षेत्रमा पठाइएको छ। नुवाकोटका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको तथा १७ हजार लिटर हवाई इन्धन नुवाकोट पठाइएको उनले जनाएका छन्।

प्रभावित क्षेत्रको सडक, पुल, विद्युत्, खानेपानी, दूरसञ्चार, जलविद्युत् तथा अन्य संरचनामा भएको क्षतिको विस्तृत मूल्यांकन सुरु गरिएको प्रधानमन्त्री शाहले बताएका छन्। यसका लागि विषयगत समूह तथा १५ वटा प्राविधिक टोली परिचालन गरिएको उनको भनाइ छ।

उनका अनुसार स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्र सक्रिय बनाइएको छ भने छ वटा अस्पताललाई तयारी अवस्थामा राखिएको छ। वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र धुलिखेल अस्पताललगायतबाट मेडिकल टोली परिचालन गरिएको तथा औषधि, स्वास्थ्य सामग्री, टेन्ट र आपत्कालीन स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको उनले बताएका छन्। कम्तीमा ५,००० जनसंख्यालाई लक्षित गरी टेन्ट तथा स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको उनको भनाइ छ।

दूरसञ्चार सेवा पुनःस्थापनाअन्तर्गत प्रभावित १९८ टावर वा साइटमध्ये १४५ वटा सञ्चालनमा आएको प्रधानमन्त्री शाहले बताएका छन्। नेपाल टेलिकमका १२० साइटमध्ये ८२ वटा र एनसेलका ७८ साइटमध्ये ६३ वटा पुनः सञ्चालनमा आएको उनले उल्लेख गरेका छन्। नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको र धुन्चेमा विद्युत् सेवा पुनः सञ्चालनका लागि काम भइरहेको उनले जनाएका छन्।

जोखिममा रहेका परिवारका लागि आपत्कालीन आश्रयस्थलको पहिचान तथा स्थानान्तरणको काम अघि बढाइएको प्रधानमन्त्री शाहले बताएका छन्। सडक र पुल अवरुद्ध भएका बस्तीमा आवतजावत सहज बनाउन रसुवा तथा नुवाकोटका करिब १० स्थानमा तुइन निर्माणको काम पनि अघि बढाइएको उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्रीका अनुसार बाढी तथा विपद्प्रभावित १५ स्थानीय तहलाई तत्काल राहत, उद्धार तथा आवश्यक व्यवस्थापनका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको पनि उनले बताएका छन्।

प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत र पुनःस्थापना प्याकेज तयार भइरहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थालाई लक्षित गरी व्यवसाय पुनःस्थापना प्याकेज तयार पार्ने काम अघि बढाइएको उनले बताएका छन्। प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब वा पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने व्यवस्था पनि अघि बढाइएको उनको भनाइ छ।

उनले सुरक्षा निकाय, स्वास्थ्य संस्था, नेपाल रेडक्रस, नेपाल स्काउट, स्वयंसेवी संस्था, निजी क्षेत्र तथा विकास साझेदारसँग समन्वय गरी राहत, उद्धार र पुनःस्थापनाका लागि आवश्यक स्रोतसाधन एकीकृत रूपमा परिचालन भइरहेको बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com