अमेरिकामा आइसद्वारा १६.७ मिलियन डलरमा ६,००० ‘इलेक्ट्रिक सक’ पञ्जा खरिद गर्ने सम्झौता
प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार
तस्वीर : आइस
मानव अधिकारवादी संस्था तथा अधिकारकर्मीहरूको तीव्र विरोधका बाबजुद अमेरिकी आइसले आफ्ना अधिकारीहरूका लागि ६,००० थान विद्युतीय झट्का दिने पञ्जा खरिद गर्न १६.७ मिलियन अमेरिकी डलरको सम्झौता गरेको छ।
सङ्घीय डेटाबेसमा प्रकाशित एक सूचना अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यागमन कडाइ नीतिको मुख्य कार्यान्वयनकर्ताको रूपमा रहेको ‘आइस’ले केन्टकीमा आधारित ‘कम्प्लायन्ट टेक्नोलोजी’नामक कम्पनीलाई कुनै प्रतिस्पर्धात्मक बोलपत्र बिना नै यो ठेक्का दिएको हो।
उक्त सूचना अनुसार, मानिसलाई सहनै नसकिने दुखाइ दिने र प्रतिरोध गर्ने क्षमतालाई निष्क्रिय पार्ने क्षमता भएका ६,००० थान यी उपकरणहरू, आवश्यक सहयोग सामग्री र सेवासहित आगामी छ महिनाभित्र खरिद गरिने छ।
होमल्याण्ड सेक्युरिटीको वेबसाइटमा प्रकाशित जानकारी अनुसार आइसले सीटीजी-फाइभजेनेरेटेड लो आउटपुट भोल्टेज इमिटर’ युनिटहरू खरिद गर्ने योजना बनाएको थियो। डिपार्टमेन्टले यी पञ्जाहरूलाई “कन्डक्टिभ डिस्ट्र्याक्सन एन्ड डि-एस्कलेसन डिभाइस” को रूपमा व्याख्या गर्दै यसलाई ‘होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्स’ र ‘एनफोर्समेन्ट रिमूभल अपरेसन’का अधिकारीहरूलाई उपलब्ध गराइने जनाएको छ।
यसैबीच, अमेरिकन सिभिल लिबर्टीज युनियनले अध्यागमन एजेन्टहरूलाई “अत्यधिक दुखाइ दिने यस्ता लुकेका साधनहरू उपलब्ध गराउनु भनेको सर्वसाधारणका लागि अझ बढी हानि पुऱ्याउनु र जबाफदेहिता घटाउनु हो” भन्दै कडा आपत्ति जनाएको छ।
यसअघि मिनेसोटामा आइसका एजेन्टहरूले दुई अमेरिकी नागरिकको गोली हानी हत्या गरेपछि र हिरासत कक्षको अवस्थालाई लिएर अधिकारवादी समूहहरूले चिन्ता व्यक्त गरेपछि देशव्यापी रूपमा विरोध प्रदर्शनहरू भएका थिए। ट्रम्पले पद सम्हालेयता आइसको हिरासतमा ५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
ट्रम्प प्रशासनले यो कडाइ आन्तरिक सुरक्षा मजबुत बनाउनका लागि गरिएको दाबी गरे पनि मानव अधिकार समूहहरूले भने यसलाई विभेदकारी भन्दै आलोचना गरेका छन्। यसले अभिव्यक्ति स्वतन्त्रता र कानुनी अधिकारको उल्लङ्घन गर्नुका साथै विशेष गरी जातीय अल्पसङ्ख्यकहरूका लागि असुरक्षित वातावरण सिर्जना गरेको उनीहरूको भनाइ छ।





