ट्रम्प प्रशासनद्वारा जुलाईमा ३४ हजारभन्दा बढी आप्रवासी देशनिकाला


प्रकाशित मिति : १० भदौ २०८३, बुधबार

फोटो: होमल्याण्ड सेक्युरिटी

हालै सार्वजनिक भएको अमेरिकी सरकारी तथ्याङ्क अनुसार ट्रम्प प्रशासनले जुलाई महिनामा कीर्तिमानी संख्यामा आप्रवासीहरूलाई पक्राउ र देशनिकाला गरेको छ। उक्त अवधिमा दैनिक औसत १,५०० जना पक्राउ परेका थिए भने १,१०० जनालाई देशनिकाला गरिएको थियो।

यस नयाँ तथ्याङ्कले अमेरिकाभरका वकिल र आप्रवासी अधिकारकर्मीहरूले उठाउँदै आएको विषयलाई पुष्टि गरेको छ। प्रशासनले गत वर्ष प्रयोग गरेको उच्च-स्तरीय तथा सैन्य शैलीका छापामार कारबाहीहरू कम गरे पनि भित्री रूपमा आफ्ना अपरेसनहरूलाई तीव्र पारिरहेको छ।

दक्षिण क्यालिफोर्नियास्थित आप्रवासी सेवा संस्था ‘इमडेफ’का कानुनी सेवा निर्देशक मेलिसा शेफर्डका अनुसार, “मानिसहरूलाई नियन्त्रणमा लिने शैली पहिले जस्तो भड्किलो छैन, तर गिरफ्तारी भने निरन्तर भइरहेको छ। फरक यति हो कि पहिले १०-१२ जना अधिकारी मिलेर एक जनालाई समात्थे भने अहिले केही अधिकारीले गाडी रोकेर मानिसहरूलाई नियन्त्रणमा लिइरहेका छन्।”

‘डीपोर्टेशन डेटा प्रोजेक्ट’ बाट प्राप्त सरकारी तथ्याङ्क अनुसार गत महिना कुल ४९,५७१ जना पक्राउ परेका थिए। यो संख्या अक्टोबर २०२२ पछिकै सबैभन्दा बढी हो र यो वर्षको जुन महिनाको अघिल्लो कीर्तिमानभन्दा १५ प्रतिशतले बढी हो।

प्रशासनले आपराधिक पृष्ठभूमि भएकाहरूलाई मात्र निशाना बनाएको दाबी गरे पनि जुलाईको गिरफ्तारीमा परेका अधिकांश मानिसहरूको कुनै आपराधिक इतिहास थिएन। दोस्रो ट्रम्प कार्यकालको दौरान जुलाई पहिलो यस्तो महिना बन्यो, जहाँ पक्राउ परेकामध्ये ५१ प्रतिशतभन्दा बढी मानिसहरूमाथि कुनै पनि आपराधिक अभियोग वा सजाय साबित भएको थिएन।

त्यस्तै जुलाईमा देशनिकाला हुनेहरूको संख्या पनि कीर्तिमानी स्तरमा पुगेको छ। गत महिना करिब ३४,००० मानिसलाई अमेरिकाबाट हटाइएको थियो, जुन दोस्रो ट्रम्प कार्यकाल सुरु भएयताकै उच्च हो।

७० अर्ब डलरको बजेट वृद्धि पाएको अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले ‘आइस’  र सीमा सुरक्षा बलको रेखदेख गर्छ-ले दैनिक २,००० गिरफ्तारी पुर्याउने ह्वाइट हाउसको लक्ष्य हासिल गर्न काम गरिरहेको छ। आप्रवासीहरूलाई आइस कार्यालयको नियमित हाजिरीका क्रममा, ट्राफिक चेकिङमा, घरबाहिर र पछिल्लो समय अमेरिकी विमानस्थलहरूमा समेत पक्राउ गर्ने गरिएको छ।

वकिलहरूले ‘टेम्पोरेरी प्रोटेक्टेड स्टेटस’  सुविधामो रहेका आफ्ना ग्राहकहरूलाई अन्य कानुनी विकल्प खोज्न सल्लाह दिइरहेका छन्। सर्वोच्च अदालतले ५०,००० हाइटी र ६,१०० सिरियाली नागरिकको टीपीएस सुविधा रद्द गर्ने बाटो खोलिदिएपछि यो कदम चालिएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो महिना प्रशासनले विशेष गरी ओहायोको स्प्रिङफिल्ड क्षेत्रमा कडाइ गरेको छ, जहाँ टीपीएस प्राप्त हाइटीका नागरिकहरूको ठूलो बस्ती छ। स्थानीय संस्थाका अनुसार त्यहाँका हाइटीवासीहरूलाई आइस कार्यालयमा बोलाएर गोडामा अनुगमन गर्ने यन्त्र बाँध्ने गरिएको छ।

सर्वोच्च अदालतको फैसलापछि हाइटीतर्फ पहिलो देशनिकाला उडान भइसकेको छ। यस्तै, सेप्टेम्बर महिनामा साल्भाडोरनहरूका लागि तोकिएको टीपीएसको म्याद समाप्त हुँदैछ, जसका कारण १,७०,००० मानिसहरूको कानुनी संरक्षण समाप्त हुनेछ।

स्थानीय प्रहरी निकायहरूलाई नै आप्रवासन कानुन कार्यान्वयन गर्ने अधिकार दिने ‘२८७(जी)’ कार्यक्रमको तीव्र विस्तारले पनि आइसको शक्ति बढाएको छ। साधारण ट्राफिक चेकिङ र आप्रवासी गिरफ्तारी बीचको फरक ठम्याउन गाह्रो हुने भएकाले यस्ता गिरफ्तारीहरू समाजमा प्रायः ओझेल पर्ने गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com