न्युयोर्कमा स्थानीय प्रहरीलाई आइससँगको अध्यागमन सहकार्यमा रोक लगाउने नयाँ कानुन लागू


प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार

तस्वीर : आइस

न्युयोर्क राज्यमा स्थानीय प्रहरी तथा कानुन कार्यान्वयन निकायहरूलाई नागरिक अध्यागमन कार्यान्वयनमा सहयोग गर्न रोक लगाउने नयाँ नियम मंगलबार (अगस्ट २५) देखि लागू भएको छ। यस नयाँ व्यवस्थाले अझै पनि आइससँग सहकार्य गरिरहेका काउन्टीहरूसँग राज्य सरकारको विवाद बढाउने सङ्केत देखाएको छ।

‘लोकल कप्स, लोकल क्राइम एक्ट’ नाम दिइएको यस कानुनले स्थानीय सरकार र प्रहरी निकायलाई आइससँग २८७(जी) सम्झौता गर्न वा संघीय अध्यागमन उल्लङ्घनका लागि स्थानीय साधन-स्रोत प्रयोग गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाउँछ।

गभर्नर क्याथी होचुलका अनुसार, स्थानीय प्रहरीको प्राथमिक दायित्व आफ्नो क्षेत्रको जनसुरक्षा कायम राख्नु हो, न कि संघीय अध्यागमन कानुन कार्यान्वयन गर्नु। उनले राज्यका सबै निकायलाई नयाँ कानुन पालना गर्न निर्देशन दिँदै नियम नमान्नेविरुद्ध कानुनी कदम चाल्न राज्य तयार रहेको स्पष्ट पारिन्।

“हामीलाई अदालतमा चुनौती दिन खोज्नेहरूलाई म भन्न चाहन्छु- पहिले पनि प्रयास भएको थियो र अदालतले हाम्रो कानुनको पक्षमा निर्णय गरिसकेको छ,” गभर्नर होचुलले भनिन्।

यो कानुन लागू हुनुभन्दा दुई महिनाअघि अमेरिकी जस्टिस डिपार्टमेन्टले न्युयोर्क राज्यविरुद्ध मुद्दा दायर गरेको थियो। जस्टिस डिपार्टमेन्टले २८७(जी) सम्झौतामा लगाइएको प्रतिबन्धले आइसको काममा असंवैधानिक हस्तक्षेप पुर्‍याउने तर्क गरेको छ। तर, संघीय अदालतले जस्टिस डिपार्टमेन्टको अन्तरिम आदेश जारी गर्ने माग अस्वीकार गरिदिएपछि यो कानुन लागू हुने बाटो खुलेको हो।

न्युयोर्कका ६२ काउन्टीहरूमध्ये ५३ वटाले कहिल्यै पनि आइससँग २८७(जी) सम्झौता गरेका थिएनन्। हाल रेन्सेलार  र ब्रुम  काउन्टीहरूले मात्र यो साझेदारी जारी राखेका छन्। महान्यायाधिवक्ता लेटिसिया जेम्सले गत महिना १२ वटा स्थानीय निकायलाई अगस्ट २५ सम्ममा यी सम्झौताहरू अन्त्य गर्न पत्राचार गरिसकेकी छन्।

अल्बानीका प्रहरी प्रमुख ब्रेन्डन कक्सले प्रहरीलाई आइसको काममा नलगाएकै कारण अपराध दर ७ प्रतिशतले घटेको बताए। “यसको अर्थ आपराधिक मामिलामा सहकार्य नगर्ने भन्ने होइन। गम्भीर अपराधमा हामी संघीय साझेदारहरूसँग काम गरिरहनेछौँ। यसले हाम्रा स्थानीय अधिकारीहरूलाई स्थानीय अपराध नियन्त्रणमा केन्द्रित गराउन मद्दत गर्छ,” कक्सले भने।

संघीय अध्यागमन कारबाही देखेमा वा राज्यको नागरिक अध्यागमन कानुन उल्लङ्घन भएको पाइएमा सर्वसाधारणले न्युयोर्कका महान्यायाधिवक्ताको पोर्टल वा हटलाइन नम्बर १-८००-७७१-७७५५ मा रिपोर्ट गर्न सक्ने व्यवस्था गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com