देश निकालाका लागि होमल्यान्ड सेक्युरिटीले किनेका १० विमान प्रयोगहीन बनेपछि सिनेटरहरूद्वारा स्पष्टीकरण माग


प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार

Photo: David Syphers / Unsplash

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले देश निकाला उडानका लागि ४६ करोड ४० लाख डलरमा १० वटा पुराना विमान खरिद गरेको विषयमा विवाद उत्पन्न भएको छ। तीन जना डेमोक्र्याटिक सिनेटरहरूले मंगलबार डिपार्टमेन्टलाई पत्र लेख्दै उक्त खरिद प्रक्रियाको थप विवरण र कागजात उपलब्ध गराउन माग गरेका छन्।

डिपार्टमेन्टले देश निकालाका लागि तुरुन्तै विमान आवश्यक परेकाले अन्य विक्रेताहरूसँग प्रस्ताव माग गर्ने समय नभएको दाबी गर्दै प्रतिस्पर्धाबिनै सोझै विमान खरिद गरेको थियो। जनवरी महिनादेखि सुरु गरेर डिपार्टमेन्टले उत्तरी भर्जिनियाको ‘डेडालस एभिएसन कर्पोरेसन’ बाट सात वटा बोइङ ७३७ यात्रुवाहक जेट र तीन वटा विलासी बिजनेश जेट खरिद गरेको हो। उक्त कम्पनीको पहिले कुनै पनि संघीय ठेक्का लिएको अनुभव थिएन।

यद्यपि, खरिद गरिएका ती विमानहरू डिपार्टमेन्टले खासै प्रयोगमा ल्याएको छैन। डिपार्टमेन्टले दुई वटा विलासी जेट अन्य निकायलाई भाडामा वा कर्जामा दिन खोजेको छ भने बोइङ ७३७ यात्रुवाहक विमानहरूलाई लुइसियानाको लेक चार्ल्स विमानस्थलमा महिनौंसम्म थन्क्याएर राखेको छ।

कनेक्टिकटका सिनेटर रिचर्ड ब्लुमेन्थल, भर्मन्टका पिटर वेल्च र क्यालिफोर्नियाका एडम शिफले पठाएको पत्रमा डेडालस कम्पनी र होमल्यान्ड सेक्युरिटीका वर्तमान तथा पूर्व अधिकारीहरूबीच भएका कुराकानीको अभिलेख मागेका छन्। साथै, सिनेटरहरूले ती विमानहरू कति पटक उडे र तिनमा को-को सवार थिए भन्ने विवरण पनि माग गरेका छन्।

“अधिकांश विमानहरूलाई प्रयोग नगरी थन्क्याएर राखिँदा करदाताको रकमको ठूलो दुरुपयोग भएको छ,” सिनेटरहरूले पत्रमा लेखेका छन्। होमल्यान्ड सेक्युरिटीले पत्रबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। तर, यसअघि डिपार्टमेन्टले पूर्वमन्त्री क्रिस्टी नोएमको पालामा उक्त खरिद स्वीकृत भएको बताएको थियो, जसलाई राष्ट्रपति ट्रम्पले गत मार्चमा पदबाट हटाएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com