अमेरिकाबाटै धुर्मुस-सुन्तलीको नयाँ हास्य सिरियल, मोहन मिश्रको पुनरागमन


प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार

चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट नयाँ हास्य सिरियल निर्माण गरेका छन्। अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलको नाम ‘म त मर्छु कि क्या हो’ राखिएको छ।

सिरियलका निर्देशक सीताराम कट्टेलका अनुसार नर्थ क्यारोलाइनाका राले, केरी, होली स्प्रिङ्स, हाई पोइन्ट, ग्रिन्सबोरो लगायतका स्थानमा छायांकन गरिएको छ। धुर्मुस-सुन्तली मिडियाले निर्माण गरेको यो सिरियल हरेक साता शुक्रबार नेपाली समय अनुसार साँझ ८:१५ बजे प्रसारण गर्ने तयारी गरिएको छ। अमेरिकामा भने शुक्रबार बिहान १०:३० बजे यो श्रृंखला ‘धुर्मुस सुन्तली’ युट्युब च्यानलबाट प्रसारण हुनेछ। ‘म त मर्छु कि क्या हो’ शीर्षक धुर्मुसको विगतमा चर्चित बनेको थेगोबाट लिइएको हो।

सिरियलमा सीताराम र कुञ्जना आफ्ना चर्चित पात्र ‘धुर्मुस’ र ‘सुन्तली’कै भूमिकामा देखिनेछन्। उनीहरूकै निर्देशनमा निर्माण भएको सिरियलमा वरिष्ठ हास्य कलाकार मोहन मिश्र पनि मुख्य भूमिकामा देखिँदैछन्। ‘होस प्रसाद’, ‘मिस्टर फन्टुस’ लगायतका लोकप्रिय हास्य कार्यक्रममा कलाकार तथा निर्देशकका रूपमा परिचित मिश्र लामो समयपछि अभिनयमा फर्किएका हुन्।

सिरियलमा दिनेश कार्की, शंकरराज वाग्ले, संयम लामिछाने, मोनिका चौलागाईँ, चूडा धिमाल, धर्म भारती, सुभद्रा आचार्य लगायत कलाकारको अभिनय रहनेछ। यही सिरियलमार्फत सीताराम र कुञ्जनाले आफ्नी छोरी सुबिहानी कट्टेललाई बाल कलाकारका रूपमा डेब्यु गराएका छन्। नेपाली चलचित्रका पुराना नायक जीवन लुइँटेल पनि यस सिरियलमा अतिथि भूमिकामा देखिँदैछन्। अमेरिकामा बस्दै आएका उनी लामो समयको अन्तरालपछि पर्दामा देखिन लागेका हुन्।

राजु केसीको छायांकन रहेको सिरियलमा आशिष अविरलको गायन, प्रकाश पुञ्जको शब्द, राजेन्द्र बजगाईंको संगीत तथा राजेन्द्र मानन्धरको सम्पादन छ।

सिरियल मनोरञ्जनमा मात्र सीमित नरहने निर्माण पक्षले जनाएको छ। यसले अमेरिकामा बसोबास गर्ने नेपालीहरूको संघर्ष, सफलता, उपलब्धि, अवसर र चुनौतीका साथै त्यहाँको जीवनशैली, सामाजिक तथा सांस्कृतिक परिवेश, नेपाली समुदायका गतिविधि एवं प्रवासी जीवनका विविध अनुभवलाई हास्यव्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गर्नेछ।

अमेरिकामा बसाइँ सरेपछि नेपाली समुदायले भोग्ने भाषिक, सामाजिक र सांस्कृतिक चुनौती, काम र व्यवसायको अनुभव, पारिवारिक सम्बन्ध, नयाँ पुस्ताको सोच तथा नेपालीपन जोगाउने प्रयास जस्ता विषयलाई कथावस्तुमा समेटिएको छ। यसले विदेशमा रहेका नेपालीको दैनिक जीवनसँग जोडिएका वास्तविक परिस्थितिलाई हास्यका माध्यमबाट दर्शकमाझ पुर्‍याउने अपेक्षा गरिएको छ।

नर्थ क्यारोलाइनाको हाई पोइन्टमा बस्दै आएका नेपाली चलचित्रका पुराना निर्माता तथा व्यवसायी माधव ढकालले प्रवासमा बसेर नियमित रूपमा कला सिर्जना सुरु गर्नु प्रशंसनीय कार्य भएको बताएका छन्। उनले भने, “प्रवासमा रहेर यहीँबाट नियमित रूपमा कलाकर्म सुरु गर्नु आफैँमा प्रशंसनीय काम हो। सीतारामजीले यस क्षेत्रलाई निरन्तरता दिनु सामान्य कुरा होइन। यसमा हामी सबैको साथ र सहयोग रहन्छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका आएदेखि नै सीताराम र कुञ्जना कलाकर्ममा सक्रिय रहँदै आएका छन्। उनीहरूले यस अवधिमा करिब एक दर्जन नेपाली व्यवसाय तथा संस्थाका विज्ञापन निर्माण गरिसकेका छन्। केही थप विज्ञापन र म्युजिक भिडियो पनि छायांकन तथा निर्माणको क्रममा रहेको सीतारामले बताए।

“मुख्य रूपमा अब दर्शकले हाम्रो सिरियल नियमित रूपमा हेर्न पाउनुहुनेछ,” सीतारामले भने, “हामी जहाँ रहे पनि आफ्नो कला र सिर्जनालाई निरन्तरता दिन सकिन्छ भन्ने सन्देश दिन चाहन्छौँ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com