ट्रम्प प्रशासनद्वारा अमेरिकी सैनिककी पत्नी देशनिकाला, ६ वर्षीया छोरी बनिन् आमाविहीन


प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार

Photo: Diego González/ Unsplash

ट्रम्प प्रशासनको अध्यागमन विरुद्धको कडा नीतिका कारण अमेरिकी सेनाका एक सार्जेन्टकी पत्नीलाई सोमबार होन्डुरस  देश निकाला गरिएको छ। यस घटनाले अमेरिकी सेनाका अधिकारीहरूका नातेदारहरूमाथि परेको पछिल्लो प्रभावलाई उजागर गरेको छ।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी विभागका प्रवक्ताले जानकारी दिँदै क्रिस्ती मर्योरी भिल्लाफ्राङ्का-ट्रेजोलाई अमेरिकाबाट देशनिकाला गरिएको पुष्टि गरेका छन्। ६ वर्षीया छोरीकी आमा रहेकी क्रिस्तीलाई होन्डुरस पठाइएको उनका पति तथा अमेरिकी सेनाका सार्जेन्ट हेदार लियोनेल तुर्सियोस जुआरेजले बताएका छन्।

ट्रम्प प्रशासनको अध्यागमन कडाइ अन्तर्गत डिपोर्ट हुने उनी अमेरिकी सेनाका सक्रिय जवानका परिवारका सदस्यहरूमध्ये कम्तीमा सातौँ व्यक्ति हुन्।

आइसले गत जुलाई ११ मा “लक्षित अध्यागमन कारबाही” सञ्चालन गरी उनलाई पक्राउ गरेको थियो। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटिले उनलाई कानुनी प्रक्रिया पुरा गरेर नै देश निकाला गरिएको दाबी गरेको छ।

सार्जेन्ट जुआरेजका अनुसार गत जुलाईमा उनीहरूको ६ वर्षीया छोरीकै अगाडि वालमार्ट बाहिरबाट आइस अधिकारीहरूले उनकी पत्नीलाई नियन्त्रणमा लिएका थिए। उनका अनुसार होन्डुरसमा बढ्दो हिंसात्मक अपराधका कारण क्रिस्ती सन् २०१६ मा अमेरिका आएकी थिइन्। होमल्यान्ड सेक्युरिटीले भने उनी गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेको आरोप लगाएको छ।

मध्यपूर्वमा ९ महिनाको परिचालनपछि जुआरेज सन् २०२४ मा अमेरिकी नागरिक बनेका थिए। उनले आफ्नो सैन्य सेवाले पत्नीको अङ्गिकृत नागरिकता प्रक्रियामा मद्दत पुग्ने आशामा प्रक्रिया सुरु गरेका थिए।

यसैबीच, सप्ताहन्तमा इरान युद्धका क्रममा मध्यपूर्वमा तैनाथ युद्धपोत ‘यूएसएस अब्राहम लिङ्कन’ मा रहेका एक अमेरिकी नाविकका आप्रवासी बुबालाई पनि संघीय अध्यागमन नियन्त्रणमा लिई हिरासतमा राखिएको छ।

राष्ट्रपति ट्रम्पले आन्तरिक सुरक्षा सुधार गर्ने दाबी गर्दै भिसा र ग्रीन कार्ड रद्द गर्ने तथा आक्रामक रूपमा डिपोर्ट गर्ने नीति लागू गरिरहेका छन्। मानवअधिकार समूहहरूले भने यस कदमले अभिव्यक्ति स्वतन्त्रता र कानुनी अधिकारको उल्लङ्घन गर्नुका साथै विशेष गरी अल्पसंख्यकहरूका लागि असुरक्षित वातावरण सिर्जना गरेको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२४ को चुनावी अभियानमा गैरकानुनी अध्यागमन रोक्ने प्रतिज्ञा गरेका ट्रम्प प्रशासनले अहिले कानुनी अध्यागमनलाई समेत जटिल बनाएको छ। उदाहरणका लागि, केही विशिष्ट कार्य भिसाका आवेदकहरूका लागि नयाँ र महँगो शुल्क निर्धारण गरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com