अमेरिकी जलसेनामा कार्यरत जवानका बुबा आप्रवासन अधिकारीद्वारा गिरफ्तार, देशनिकालाको जोखिम
प्रकाशित मिति : ७ भदौ २०८३, आइतबार
Photo: Sung Jin Cho/ Unsplash
अमेरिकी जलसेनाका एक जवान इतिहासकै लामो निरन्तर समुद्री तैनाथीमा खटिएकै समयमा उनका बुबालाई अमेरिकी अध्यागमन अधिकारीहरूले पक्राउ गरेका छन्।
निकाारागुवाबाट आएर विगत १९ वर्षदेखि अमेरिकामा बस्दै आएका ४८ वर्षीय लुइस म्यानुएल एभिलेसलाई फ्लोरिडाको कि वेस्टमा गाडी मर्मतका लागि लैजाँदै गर्दा सीमा सुरक्षा बलले पक्राउ गरेको हो।
उनकी ४७ वर्षीया पत्नी अर्गेलिया एभिलेसका अनुसार उनी परिवारका लागि कडा मिहिनेत गर्ने सोझा व्यक्ति हुन् र उनीसँग अमेरिकामा काम गर्ने वैधानिक अनुमतिपत्र समेत रहेको छ।
पक्राउ परेका एभिलेसका छोरा ‘युएसएस अब्राहम लिंकन’ नामक अमेरिकी युद्धपोतमा विगत ९ महिनादेखि खटिएका छन्।
मध्यपूर्वमा तैनाथ उक्त युद्धपोतले निरन्तर समुद्रमा रहेर अमेरिकी सैन्य इतिहासमै नयाँ रेकर्ड बनाएको छ, जसका कारण जवानहरूमा खाद्यान्न अभाव र मानसिक तनाव बढ्दै गएको चिन्ता उत्पन्न भएको छ।
एभिलेसका छोराले सामाजिक सञ्जालमा लेखे अनुसार उनले २५० दिनभन्दा बढी समयदेखि कुनै विश्राम नलिई दैनिक १२ घण्टाको कठिन सिफ्टमा काम गरिरहेका छन्।
ट्रम्प प्रशासनको सामूहिक देश निकाला नीतिका कारण सक्रिय सैन्य परिवारहरूले पाउँदै आएको कानुनी संरक्षण गुमाउँदा यस्ता पक्राउका घटनाहरू बढेका हुन्।
हालसम्म दर्जनौँ सैन्य परिवारका अभिभावक तथा दम्पतीहरू पक्राउ परेका छन् भने कम्तीमा ६ जनालाई देश निकाला गरिसकिएको छ।
यता अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले भने सेनामा परिवार हुनु मात्रै कानुन उल्लङ्घन गर्ने छुट नभएको र सरकारले पक्षपात नगरी कानुन कार्यान्वयन गर्ने स्पष्ट पारेको छ।





