अमेरिकी अध्यागमन एजेन्टहरूमाथि यौन अपराधको शृङ्खला: आरोपीको सङ्ख्या १५२ पुग्यो
प्रकाशित मिति : ७ भदौ २०८३, आइतबार
फोटो: होमल्याण्ड सेक्युरिटी
अमेरीकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी अन्तर्गत काम गर्ने कर्मचारीहरू-विशेष गरी सीमा गस्ती र आइसका अधिकारीहरू-यौन अपराध तथा महिला र बालबालिकाविरुद्धको हिंसात्मक घटनाहरूमा संलग्न भएको सूची सार्वजनिक भएको छ। ‘ओहायो इमिग्रन्ट एलायन्स’ले अदालतको कागजात विश्लेषण गरी तयार पारेको परिमार्जित प्रतिवेदनअनुसार त्यस्ता आरोपी कर्मचारीहरूको सङ्ख्या ५९ बाट बढेर १५२ पुगेको छ।
उक्त सूचीमा रहेका करिब ९० प्रतिशत मामिलाहरू यौन शोषण वा लैङ्गिक हिंसासँग सम्बन्धित छन्। तीमध्ये आधाभन्दा बढी केसहरू बालबालिकाहरूमाथिको यौन शोषणसँग जोडिएका छन्। लगभग ४५ प्रतिशत घटनामा अधिकारीहरूले आफ्नो पद र अधिकारको दुरुपयोग गरी अपराध गरेको पाइएको छ।
ओहायो इमिग्रन्ट एलायन्सकी संस्थापक लिन ट्रामोन्टेका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता सीमा सुरक्षा बलमा तीव्र गतिमा एजेन्टहरू थपिएसँगै यस्ता आपराधिक घटनाहरूमा पनि वृद्धि भइरहेको देखिन्छ।
यस विषयमा होमल्यान्ड सेक्युरिटीका प्रवक्ताले डिपार्टमेन्टले नयाँ एजेन्टहरूको पृष्ठभूमि कडाइका साथ जाँच गर्ने र दोषी पाइनेलाई कारबाही गर्ने दाबी गरेका छन्। यद्यपि, कार्डोजो ल स्कूलका प्राध्यापक पिटर एल. मार्कोविजले यो प्रतिवेदनले अध्यागमन निकायको दोहोरो चरित्र उदाङ्गो पारेको टिप्पणी गरेका छन्।
आइसले आपराधिक पृष्ठभूमि भएकाहरूलाई हटाउने दाबी गरे पनि उनीहरूकै आफ्नै निकायभित्र गम्भीर अपराधमा संलग्न व्यक्तिहरू कार्यरत रहेको र हिरासतमा रहेका ६६,००० मध्ये २ प्रतिशतभन्दा कम मानिसहरू मात्रै आपराधिक अभियोगमा परेकाले बाँकी ठूलो संख्यालाई नागरिक कानूनअन्तर्गत थुनामा राखिएको उनले उल्लेख गरे।





