ट्रम्प प्रशासनद्वारा सूचना नै नदिई तेस्रो मुलुक देशनिकाला गरिएका आप्रवासीहरू अलपत्र


प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार

Photo: Nicholas Santoianni/ Unsplash

गत वर्षसम्म फ्लोरिडामा बसोबास गर्दै आएका क्युबाली आप्रवासी यास्मानी मोरेनो डि अर्मास अहिले मध्य अफ्रिकी गणतन्त्रमा अलपत्र अवस्थामा परेका छन्। ट्रम्प प्रशासनले गैर-अमेरीकी नागरिकहरूलाई नियन्त्रणमा लिने अभियानअन्तर्गत उनलाई अन्य दर्जानौँ आप्रवासीहरूसँगै गरिबी र द्वन्द्वग्रस्त अफ्रिकी मुलुक पुर्‍याएपछि उनी त्यहाँ पुगेका हुन्।

मोरेनो डि अर्मासका अनुसार उनलाई सेन्ट्रल अफ्रिकन रिपब्लिक पुर्‍याउने कुराको पूर्वजानकारी दिइएको थिएन। गत जुलाईको अन्त्यतिर राजधानी बाङ्गी पुगेपछि मात्र उनले आफूलाई अफ्रिका पठाइएको थाहा पाएका थिए। उनीसँगै इक्वेडर, होन्डुरस, सर्बिया, रुस र भियतनामका नागरिकहरू पनि त्यहाँ पुर्‍याइएका छन्।

कागजातविहीन अवस्थामा अनजान महाद्वीपमा थुनिएजस्तै भएका छौँ र परिवारलाई सम्झँदै कष्टकर जीवन बिताइरहेका छौँ,” बाङ्गीबाट भिडियो कलमा कुराकानी गर्दै मोरेनो डि अर्मासले बताए।

सेन्ट्रल अफ्रिकन रिपब्लिक विश्वकै सबैभन्दा गरिब र अशान्त देशहरूमध्ये एक मानिन्छ। अमेरिकी विदेश मन्त्रालयले सुरक्षा जोखिमका कारण आफ्ना नागरिकहरूलाई त्यहाँ भ्रमण नगर्न ‘लेभल ४’ को चेतावनी जारी गरेको छ। ट्रम्प प्रशासनले कागजातविहीन आप्रवासीहरूलाई देशनिकाला गर्न सहमति जनाएका ३० भन्दा बढी देशहरूमध्ये सेन्ट्रल अफ्रिकन रिपब्लिक पनि एक हो।

यसैगरी, एरिट्रियाका नागरिक जेना गेब्रग्जाबेर (३९) पनि सोही देशमा अलपत्र छन्। उनका पत्नी र ५ वर्षीय छोरा अमेरिकी नागरिक हुन् र उनीहरू म्यारील्यान्डमा बस्दै आएका छन्। म्यारील्यान्डमा ट्रक चालकका रूपमा कार्यरत गेब्रग्जाबेरलाई पनि कुनै पूर्वसूचना वा कानुनी चुनौती दिने अवसर नदिई सेन्ट्रल अफ्रिकन रिपब्लिक पठाइएको हो।

अमेरिकी अदालतका अनुसार यी दुवै पुरुषको कुनै गम्भीर आपराधिक पृष्ठभूमि छैन। तर, क्युबाजस्ता देशहरूले अमेरिकाबाट पठाइएका आफ्ना नागरिक फिर्ता लिन अस्वीकार गर्ने वा कानुनी सुरक्षाका कारण मातृभूमि फर्कन नसक्ने आप्रवासीहरूलाई तेस्रो मुलुक पठाउने नीतिअन्तर्गत उनीहरूलाई त्यहाँ पठाइएको हो।

दुवै जनाले आफूहरू अनजान र भाषा नबुझिने देशमा अलपत्र परेको बताएका छन्। “यदि देशनिकाला नै गर्ने हो भने आफ्नै गृहदेशमा गरिनुपर्छ, संस्कृति नै थाहा नभएको अर्कै देशमा होइन,” मोरेनो डि अर्मासले भने।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com