पाँच पटक अवैध रूपमा अमेरिका छिरेका मेक्सिकन नागरिक क्यालिफोर्नियाबाट पक्राउ
प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार
तस्वीर : आइस
अमेरिकी आइसले पाँच पटक अवैध रूपमा अमेरिका प्रवेश गरिसकेका र चार पटक प्रयास गर्दा असफल भएका मेक्सिकन नागरिक अर्नेस्टो अलेक्जान्ड्रो पेरेज-गार्सियालाई क्यालिफोर्नियाको रेडोन्डो बीचबाट पक्राउ गरेको छ।
सन् २००३ देखि मादक पदार्थ, नियन्त्रित पदार्थ, सवारी चलाउनेसम्बन्धी कसुर तथा आपराधिक धम्कीका शृङ्खलाबद्ध मुद्दा खेपेका पेरेज-गार्सियालाई बिहीबार बिहान उनी नियमित हिँडडुलमा निस्किएका बेला नियन्त्रणमा लिइएको हो। पक्राउ पर्ने क्रममा सुरुमा आफ्नो पहिचान लुकाउने प्रयास गरे पनि पुरानो तस्बिर देखाएपछि उनले आफू नै उक्त व्यक्ति भएको स्वीकार गरेका थिए।
पत्रकारहरूसँग कुरा गर्दै पेरेज-गार्सियाले आफ्नो अत्याधिक मदिरा सेवनको बानी नै पक्राउ पर्नुको मुख्य कारण रहेको बताए। उनले भने, “अन्ततः मदिराका कारण नै म फेरि यो झन्झटमा परेँ। यो मेरो गल्ती हो र यसको जिम्मेवारी मैले नै लिनुपर्छ।”
पेरेज-गार्सियालाई क्यालिफोर्नियाको अदालतले सन् २००६ मा त्रास फैलाउने उद्देश्यले धम्की दिएको अभियोगमा दोषी ठहर गर्दै पहिलो पटक मेक्सिको फिर्ता गरेको थियो। तर त्यसपछि पनि उनी पटक-पटक अवैध रूपमा अमेरिका प्रवेश गरिरहे। सन् २०२० यता उनी अभद्र व्यवहारका कारण पाँच पटक पक्राउ परिसकेका छन्।
यस घटनाले अमेरिकामा अभयारण्य नीतिसम्बन्धी बहसलाई पुनः बढाएको छ। आइसका अनुसार स्थानीय प्रहरीले धेरै पटक राखिएका हिरासत अनुरोध अस्वीकार गर्दा यस्ता व्यक्तिहरूलाई समुदायबाटै पक्राउ गर्नुपर्ने स्थिति सिर्जना भएको छ।
अमेरिकामा आफ्ना बालबच्चा रहेका र मेक्सिकोमा आफ्नो केही बाँकी नरहेको बताउँदै पेरेज-गार्सियाले भने, “कानुनअनुसार मेरो पक्राउ जायज छ। यो कुनै न कुनै दिन हुनु नै थियो, तर कहिले हुन्छ भन्ने मात्र थाहा थिएन।”





