चिच्याएर बर माग्न आउनेको भीड


प्रकाशित मिति : कार्तिक १७, २०७४ शुक्रबार

पाल्पा, १७ कात्तिक ।  तिनाउ गाउँपालिका–४, सत्यवतीमा चिच्याएर बर माग्ने धार्मिक मेला शुरु भएको छ ।

रातको समय चिच्याएर बर माग्दा पूरा हुने विश्वासका साथ अहिले मन्दिर क्षेत्रमा बर माग्नेको चहलपहल बढेको छ । सत्यवतीताल संरक्षण तथा मन्दिर विकास समितिको आयोजनामा शुरु भएको सत्यवती धार्मिक मेलामा रातीको समयमा चिच्याएर बर माग्नेको अहिले भीड लागेको छ ।

धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा महत्वपूर्ण रहेको यो मेलामा नेपाललगायत भारतीय क्षेत्रबाट समेत धार्मिक पर्यटकको ओइरो लागेको छ । रातको समय सत्यवती तालमा लिंगो गाडेर बिहान सोहि लिंगो चिनेर पूजा गर्ने चलन छ ।

रातमा पुगेर बिहानै सत्यवती बजैका मन्दिर छोडनुपर्ने धार्मिक मान्यताका कारण आफू दिउँसोमा मन्दिर नपुगेको तानसेनका कमल तिमिल्सेनाले बताउनुभयो ।

सत्यवती बजैले कानले नसुन्ने भएपछि चिच्याएर बर माग्ने गरिएको समितिका अध्यक्ष सुनवीर गाहाले बताउनुभयो । पहाडको टुप्पोमा मन्दिर र तालसमेत रहेको छ । ताल परिक्रमा गरी मन्दिरमा पूजा गर्दै आउने चलन छ । मन्दिरमा बजैलाई पूजा गरेपछि टीका, चुरा, साडी चोलीसमेत चढाउने चलन छ ।

कात्तिक शुक्ल पूर्णिमा कात्तिक महिनामा परेमात्र यहाँ मेला लाग्ने गर्दछ । अघिल्लो वर्षको तुलनामा यो वर्ष मन्दिरमा पूजा गर्न आउनेको संख्या बढिरहेका छन् । विगत दुई दिनमा ५० हजार भन्दा बढीले मन्दिरको दर्शन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

बिहान झिसमिसे उज्यालो नहँुदै मन्दिर परिसर छोड्नुपर्ने परम्परागत मान्यता रहेको सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिका अध्यक्ष गाहाले बताउनुभयो ।

प्रत्येक वर्ष कात्तिक शुल्क त्रयोदशीदेखि पूर्णिमासम्म सत्यवती तालमा धार्मिक मेला लाग्ने भएपछि पाल्पा, गुल्मी, रुपन्देही, नवलपरासी, कपिलबस्तु र भारतबाट समेत यहाँ दर्शन गर्न आउने श्रद्धालुहरुको संख्या वर्षेनी बढ्दो छ ।

सत्यवतीदेवी कानले नसुन्ने धार्मिक विश्वासका कारण रातमै चिच्चाएर बर माग्ने चलन छ । रातको समयमा हजारौंँले मानिसले एकैपटक चिच्चाएर बर माग्दा जंगलको सुनसान रात गुञ्ज्यमान हुने गर्दछ । पाल्पा बुटवल सडक खण्डको चौबीस माइल र बुटवल क्षेत्रबाट आउनेले झुम्साबाट मन्दिर क्षेत्र जान सकिन्छ । करिब दुईदेखि तीन घण्टा उकालो हिँडेपछि रमणीय सत्यवती तालमा प्रकृतिसँग मनोरञ्जन लिन सकिन्छ ।

तिनाउ गाउँपालिका प्रमुख ओमबहादुर घर्तीले यो रमणीय प्रकृति ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com