क्यालिफोर्नियाको सान डिएगोमा अध्यागमन अधिकारीहरूलाई तालिम केन्द्र प्रयोगमा रोक


प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार

तस्वीर : आइस

दक्षिण क्यालिफोर्नियाको सान डिएगो काउन्टीले ट्रम्प प्रशासनको आप्रवासीविरुद्धको कठोर नीतिको विरोध गर्दै संघीय आप्रवासन अधिकारीहरूलाई स्थानीय गोली हान्ने तालिम केन्द्र प्रयोग गर्न नदिने निर्णय गरेको छ।

मंगलबार बसेको सान डिएगो काउन्टी सुपरभाइजर्सको बैठकले ३-२ मतका आधारमा आइस र सीमा सुरक्षा निकायसँगका तालिम सम्झौताहरू रद्द गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै अमेरिकी-मेक्सिको सीमा नजिकै रहेका काउन्टीका दुई वटा तालिम केन्द्रहरूमा संघीय एजेन्टहरूले पाउँदै आएको तालिम रोकिनेछ।

स्थानीय समुदाय र अधिकारकर्मीहरूको निरन्तरको दबाबपछि काउन्टीले यो कदम चालेको हो। काउन्टी सुपरभाइजर मोनिका मोन्टगोमेरी स्टेपले भनिन्, संघीय आप्रवासन एजेन्टहरूले स्थानीय र राष्ट्रिय स्तरमा हाम्रा समुदायहरूलाई धेरै किसिमले क्षति पुर्‍याएका छन्। हामी यस कार्यमा सहयोगी वा साझेदार बन्न चाहँदैनौँ।

अर्कोतर्फ, निर्णयको विपक्षमा मत हाल्ने काउन्टी सुपरभाइजर जिम डेसमन्डले भने सुरक्षा निकायहरूले मिलेर काम गर्नुपर्ने र तालिम रोक्नाले समस्या समाधान नहुने तर्क गरे। त्यस्तै, भन्सार तथा सीमा सुरक्षा निकायका प्रमुख रड्नी स्कटले यो निर्णयले सीमा सुरक्षामा असर पार्ने र आफ्ना १,७०० अधिकारीहरूलाई अन्यत्र तालिममा पठाउनुपर्दा सीमा व्यवस्थापनमा कर्मचारीको कमी हुने चेतावनी दिएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com