अध्यागमन एजेन्ट सुपूर्दगी गर्न माग गर्दै मिनेसोटाद्वारा टेक्सासका गभर्नरविरुद्ध मुद्दा दायर
प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार
अमेरिकाको मिनेसोटा राज्यले टेक्सासका गभर्नर ग्रेग एबोटविरुद्ध मंगलबार संघीय अदालतमा मुद्दा दायर गरेको छ। गत शीतकालीन देशनिकाला अभियानका क्रममा मिनियापोलिसमा एक भेनेजुएली नागरिकलाई गोली हानेको आरोपमा पक्राउ परेका अमेरिकी अध्यागमन एजेन्टलाई मिनेसोटामा सुपूर्दगी गराउन दबाब दिने उद्देश्यले यो मुद्दा दायर गरिएको हो।
अमेरिकी आइसका एजेन्ट ५२ वर्षीय क्रिस्टियन क्यास्ट्रो विगत तीन महिनादेखि मेक्सिको सीमावर्ती टेक्ससको एक काउन्टी जेलमा रहेका छन्। मिनेसोटाको न्यायाधीशले जारी गरेको पक्राउ पुर्जीका आधारमा टेक्सस रेन्जर्सले उनलाई गत मे २९ मा पक्राउ गरेको थियो।
क्यास्ट्रोमाथि गत जनवरी १४ मा जुलियो सेसर सोसा-सेलिस नामका व्यक्तिलाई गोली हानेर घाइते बनाएको आरोप छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यागमन नीतिको विरोधमा मिनेसोटामा व्यापक प्रदर्शन भइरहेका बेला यो घटना घटेको थियो।
अमेरिकी संविधान र संघीय कानुन अनुसार एक राज्यमा अपराध गरी अर्को राज्यमा रहेका अभियुक्तलाई सुपूर्दगी गर्नु अनिवार्य र सामान्य प्रक्रिया मानिन्छ। तर, मिनेसोटाका महान्यायाधिवक्ता किथ एलिसनका अनुसार टेक्ससका गभर्नर एबोटले गभर्नर टिम वाल्जको सुपूर्दगी अनुरोधलाई बेवास्ता गरिरहेका छन्। टेक्ससको कानुन अनुसार गभर्नरले सुपूर्दगी आदेशमा हस्ताक्षर नगरेमा ९० दिनपछि अभियुक्तलाई जेलमुक्त गर्नुपर्ने प्रावधान छ, जुन समयसीमा अर्को हप्ता सकिँदैछ।
“यदि गभर्नरले आदेशमा हस्ताक्षर नगरेमा क्रिस्टियन क्यास्ट्रो टेक्ससको जेलबाट छुट्न सक्छन् र मिनेसोताको कानुनी कारबाहीबाट जोगिन देश नै छाडेर भाग्न सक्छन्,” महान्यायाधिवक्ता एलिसनले पत्रकार सम्मेलनमा भने।
अर्कोतर्फ, गभर्नर एबोटका प्रवक्ता अगाथे सिरासाले विचाराधीन सुपूर्दगी मामिलामा कुनै टिप्पणी नगर्ने बताएका छन्।
मिनेसोटाको हेनेपिन काउन्टीकी मुख्य अभियोजक म्यारी मोरियर्टीले क्यास्ट्रोमाथि घातक हतियार प्रयोग गरी आक्रमण गरेको चार वटा आरोप र झुटा विवरण दिएको अभियोग दर्ता गरेकी छन्। सुरुमा क्यास्ट्रोका माथिल्लो निकायले सोसा-सेलिस र अन्य व्यक्तिहरूले उनलाई हिउँ फाल्ने साबेल र कुचोले आक्रमण गरेको दाबी गरेका थिए। तर, भिडियो प्रमाणले सो दाबी असत्य साबित गरेपछि संघीय अभियोजकहरूले सोसा-सेलिसमाथिका आरोपहरू खारेज गर्दै क्यास्ट्रोलाई निलम्बन गरेका थिए।
ह्वाइट हाउसका अधिकारीहरूले भने आइस एजेन्टहरूको बचाउ गर्दै उनीहरूलाई ड्युटीको क्रममा राज्यका कानुनहरू उल्लङ्घन गर्दा पनि पूर्ण उन्मुक्ति रहने दाबी गरेका छन्।
मिनेसोटाले दक्षिणी टेक्ससको ब्राउनस्भिलस्थित संघीय अदालतमा मुद्दा दायर गर्दै गभर्नर एबोटलाई तत्काल सुपूर्दगी आदेशमा हस्ताक्षर गर्न आदेश दिन माग गरेको छ। यस मुद्दामा क्यास्ट्रोलाई हिरासतमा राख्ने क्यामरुन काउन्टीका सेरिफ म्यानुएल ट्रेभिनोलाई पनि विपक्षी बनाइएको छ।





