अमेरिकामा कागजातविहीन बालबालिकाको शरण पाउने बाटो साँघुरिँदै, देश निकालाको जोखिम उच्च
प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार
Photo: Benjamin Hersh/ Unsplash
अमेरिकामा कागजातविहीन रूपमा बसोबास गर्दै आएका बालबालिकाहरूका लागि स्थायी बसोबास वा शरण प्राप्त गर्ने विकल्पहरू ट्रम्प प्रशासनले थप साँघुरो बनाएको छ। नयाँ प्रशासनिक निर्णयहरूमार्फत कानुनी जटिलताहरू थप्दै उनीहरूलाई द्रुत गतिमा देश निकाला गर्ने बाटो खोलिएको छ।
अमेरिकी जस्टिस डिपार्टमेन्ट मातहतको ‘बोर्ड अफ इमिग्रेशन अपिल्स’ले अध्यागमन न्यायाधीशहरूलाई भिसाको पर्खाइमा रहेका बालबालिकाको मुद्दा रोक्न वा ढिलाइ गर्न प्रतिबन्ध लगाएको छ। विशेष गरी आफ्नै अभिभावकबाट शोषण, त्याग वा उपेक्षामा परेका बालबालिकालाई दिइने ‘स्पेशल इमिग्रान्ट जुभेनाइल स्टेटस’ भिसाका लागि आवेदन दिएका नाबालिगहरू समेत अब सोझै देश निकालाको जोखिममा परेका छन्।
यसका साथै, अमेरिकामा एक्लै प्रवेश गरे पनि पछि आफ्ना अभिभावकसँग पुनर्मिलन भएका बालबालिकालाई ‘संरक्षकविहीन नाबालिग’को सूचीबाट हटाउन थालिएको छ। यो वर्गीकरण फेरिएसँगै बालबालिकाले पाउने विशेष कानुनी सुविधा र बालबालिका-मैत्री शरण प्रक्रियाबाट उनीहरू वञ्चित हुनेछन्।
अध्यागमन अधिकारकर्मी तथा कानुन व्यवसायीहरूले यो कदमलाई बालबालिकाको मौलिक कानुनी अधिकारमाथिको प्रहार भनेका छन्। बालबालिकासम्बन्धी अधिकार क्षेत्रमा कार्यरत संस्था ‘अकासिया सेन्टर फर जस्टिस’ का प्रतिनिधि केल ह्वाइटले भने,यो बालबालिकालाई निष्पक्ष र बाल-केन्द्रित प्रक्रियाबाट वञ्चित गर्ने एक निष्ठुरी प्रयास हो।
अर्कोतर्फ, अमेरिकी जस्टिस डिपार्टमेन्ट तथा अध्यागमन अदालत हेर्ने निकाय ईओआईआरले भने अदालतमा वर्षौंदेखि बाँकी रहेका मुद्दाहरूको चाप घटाउन र कानुनी प्रक्रियालाई छिटो तथा सुदृढ बनाउन यो कदम चालिएको स्पष्ट पारेको छ।
यस नयाँ नीतिका कारण भिसा स्वीकृत भइसकेर पनि अन्तिम कानुनी दस्तावेजको पर्खाइमा रहेका हजारौँ बालबालिकाको भविष्य अन्योलमा परेको छ भने अधिकारवादी संस्थाहरूले यसविरुद्ध सङ्घीय अदालतमा जाने तयारी गरिरहेका छन्।





