अमेरिकी सेनाका परिवारलाई डिपोर्ट गर्ने प्रयासबारे डेमोक्रेट्सद्वारा अनुसन्धान सुरु
प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार
अमेरिकी कंग्रेसका डेमोक्र्याटिक सांसदहरूले अमेरिकी सेनाका जवान तथा तिनका परिवारलाई देशनिकाला गर्ने ट्रम्प प्रशासनको प्रयासबारे अनुसन्धान सुरु गरेका छन्। ‘एसोसिएटेड प्रेस’ को अनुसन्धानले ५० भन्दा बढी बहालवाला सैनिकका जीवनसाथी तथा अभिभावकहरूलाई अध्यागमन अधिकारीहरूले नियन्त्रणमा लिएको खुलासा गरेपछि यो कदम चालिएको हो।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी, रक्षा मन्त्रालय र भेटेरन्स अफेयर्स विभागलाई पठाइएको पत्रमा ६० भन्दा बढी सांसदहरूले पेन्टागन र अध्यागमन निकायबीच सैनिक परिवारलाई डिपोर्ट गर्न कुनै समन्वय भइरहेको छ कि छैन भन्नेबारे छानबिन गरिने उल्लेख गरेका छन्।
यस्ता प्रयासहरूले सैन्य तयारीमा जोखिम पुर्याउँछन्, सैनिकहरूको मनोबल खस्क्याउँछन् र देशका लागि ज्यान बाजी लगाउनेहरूसँग अमेरिकाले गरेको बाचाको उल्लंघन गर्छन्,सांसदहरूद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ।
यस विषयमा पेन्टागनले सीधा प्रतिक्रिया दिन अस्वीकार गर्दै पत्रका लेखकहरूलाई नै सीधा जवाफ पठाउने बताएको छ। यस्तै, होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्टले सैनिकहरूको योगदानको कदर गर्ने तर “केवल सैन्य सेवाले नै स्वतः कानुनी अध्यागमन दर्जा नदिने र कानुन उल्लंघनको परिणामबाट छुट नदिने” स्पष्ट पारेको छ।
नेत्री एलिजाबेथ वारेन र सिनेटर रिचर्ड ब्लुमेन्थलको नेतृत्वमा भइरहेको यस छानबिनमा सांसदहरूले अझै पनि अध्यागमन सुरक्षाको प्रलोभन देखाएर भर्ना लिइरहेको विषयमा समेत प्रश्न उठाएका छन्।





