दक्षिण अफ्रिकामा कडाइ र हिंसापछि १७८,००० भन्दा बढी आप्रवासी स्वदेश फर्किए
प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार
फोटो :एपी/रासस
दक्षिण अफ्रिका सरकारले अवैध आप्रवासनविरुद्ध सुरु गरेको व्यापक धरपकड र हिंसात्मक विरोध प्रदर्शनका कारण हालैका महिनाहरूमा १७८,००० भन्दा बढी अफ्रिकी आप्रवासीहरूले मुलुक छोडेका छन्। आक्रमणको डर र कानुनी कारबाहीका कारण अफ्रिकाको सबैभन्दा उन्नत अर्थतन्त्रबाट हालसम्मकै ठूलो संख्यामा मानिसहरू बाहिरिएका हुन्।
सम्बन्धित देशका अधिकारीहरूका अनुसार मे महिनाको अन्त्यदेखि हालसम्म छिमेकी जिम्बावेमा ११५,००० भन्दा बढी र मलावीमा ५६,००० भन्दा बढी आप्रवासीहरू फर्किसकेका छन्। यसका साथै नाइजेरिया, घाना, मोजाम्बिक र लेसोथोले पनि आफ्ना १,००० भन्दा बढी नागरिकहरू स्वदेश फर्किएको पुष्टि गरेका छन्।
फर्किएका मानिसहरूमा दक्षिण अफ्रिकाद्वारा देश निकाला गरिएका र स्वैच्छिक स्वदेश फिर्ती सुविधा लिएकाहरू समावेश छन्। दक्षिण अफ्रिका सरकारका अनुसार अप्रिल महिनादेखि हालसम्म करिब १९,००० जनालाई औपचारिक रूपमा देश निकाला गरिएको छ।
यस घटनाक्रमले गर्दा हजारौँ बालबालिकाहरूको शिक्षा अवरुद्ध भएको छ भने एचआईभी रोगका बिरामीहरूले जीवनरक्षक औषधि पाउन छाडेका छन्। मानवअधिकारवादी संस्थाहरूले यस समस्याप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
दक्षिण अफ्रिकामा स्थानीय बासिन्दाहरूले अवैध आप्रवासीहरूले गर्दा बेरोजगारी बढेको र सार्वजनिक सेवाहरूमा दबाब परेको आरोप लगाउँदै निरन्तर प्रदर्शन गर्दै आएका छन्। यसक्रममा आप्रवासीहरूमाथि कुटपिट, उनीहरूका घर र व्यवसायमा आगजनीजस्ता हिंसात्मक घटनाहरू समेत भएका छन्।
यस स्थितिले दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकहरूबीच कूटनीतिक तनाव बढाएको छ। घाना र मोजाम्बिक जस्ता देशहरूले दक्षिण अफ्रिकामाथि नश्लभेदी व्यवहार गरेको आरोप लगाएका छन्।
उता युनिसेफ र संयुक्त राष्ट्रसंघले यसरी अचानक मानिसहरू विस्थापित हुँदा विशेष गरी बालबालिकाहरू हिंसा, शोषण र मानसिक तनावको उच्च जोखिममा परेको चेतावनी दिएका छन्। मलावी फर्किएकाहरूमध्ये ५ वर्षमुनिका करिब ४,००० बालबालिका रहेका छन् भने जिम्बावेमा ११,००० भन्दा बढी बालबालिका फर्किएका छन्।
दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले आप्रवासीमाथिको हिंसाको भर्त्सना गरे तापनि अध्यागमन नियम कडाइका साथ लागू गर्ने र सीमा सुरक्षामा अझ कडाइ गर्ने प्रतिबद्धता जनाएका छन्।





