विमानस्थलबाटै कानुनी आवेदक पक्राउ पर्दा आक्रोश, ट्रम्प प्रशासन र एयरलाइन्स उद्योगबीच तनाव


प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार

तस्वीर : आइस

अमेरिकी विमानस्थलहरूमा अध्यागमन सम्बन्धी कारबाही र धरपकड व्यापक पारिएपछि ट्रम्प प्रशासन र एयरलाइन्स उद्योगबीच मतभेद सिर्जना भएको छ। सङ्घीय अधिकारीहरूलाई यात्रु पक्राउ गर्न सहयोग गर्न एयरलाइन्सका कर्मचारीहरूले अस्वीकार गरिरहेका छन्। पक्राउ पर्ने अधिकांश व्यक्तिहरू भिसा विस्तार, शरणार्थी वा ग्रीन कार्डका लागि निवेदन दिएर कानुनी प्रक्रियामा रहेका सर्वसाधारण हुन्।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी अन्तर्गतका आइस र ‘ट्रान्सपोर्टेसन सेक्युरिटी एडमिनिस्ट्रेशन’ले संयुक्त रूपमा देशका विभिन्न विमानस्थलबाट दैनिक ३६ जनासम्मलाई नियन्त्रणमा लिइरहेका छन्।

सान फ्रान्सिस्कोका अध्यागमन वकिल गसान शामिएका अनुसार, पक्राउ पर्नेहरू आपराधिक पृष्ठभूमि भएका व्यक्ति नभई वैध रूपमा आवेदन दर्ता गराएर पर्खाइमा बसेका मानिस हुन्। नियन्त्रणमा लिइएकाहरूमा शारीरिक रूपमा अशक्त शरणार्थी, भूतपूर्व हेरचाहकर्ता तथा अमेरिकी नागरिकसँग विवाह भई स्थायी आवासका लागि प्रक्रियामा रहेका महिलाहरू समेत छन्।

विमानस्थलमा आन्तरिक यात्रा प्रभावित नहोस् भनेर विगतमा यस्ता कारबाही रोक्ने गरिएको भए पनि, दैनिक २,००० जनालाई पक्राउ गर्ने नयाँ लक्ष्य पूरा गर्न अधिकारीहरूले टिकट काउन्टर र बोर्डिङ गेट नजिकका सार्वजनिक स्थलहरूबाटै धरपकड सुरु गरेका हुन्।

डलास विमानस्थलमा त एक सङ्घीय एजेन्टले अदालतको वारेन्ट बिना जहाजभित्रै प्रवेश गरी यात्रु पक्राउ गर्न खोज्दा साउथवेस्ट एयरलाइन्सका कर्मचारीले रोकेका थिए। कर्मचारीहरूले एजेन्टलाई यात्रुको विवरण रहेको कम्प्युटर स्क्रिनसमेत हेर्न दिएका थिएनन्।

यसरी विमानस्थलमा दिनप्रतिदिन बढ्दै गएको तनावपूर्ण वातावरणले यात्रु तथा एयरलाइन्स कर्मचारीहरूको सुरक्षामा गम्भीर जोखिम निम्त्याउने भन्दै सम्बद्ध सङ्घसंस्था र ‘एसोसिएसन अफ फ्लाइट एटेन्डेन्ट’ ले चिन्ता व्यक्त गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com