नर्थ क्यारोलिनामा आप्रवासीमाथि आइसको कडा निगरानी, गम्भीर अपराधमा संलग्नहरू पक्राउ


प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार

तस्वीर : आइस

ट्रम्प प्रशासनको आप्रवासनसम्बन्धी कडा नीतिका बीच आइसले नर्थ क्यारोलिनाको सार्लोट सहरलाई मुख्य निशाना बनाएको छ। पूर्व कमाण्डर ग्रेगरी बोलभिनोको पालापछि पहिलोपटक आइसका अधिकारीहरू आप्रवासीहरूलाई पक्राउ र देशनिकाला गर्ने कार्यमा यसरी सक्रिय रूपमा फर्किएका हुन्।

हाल आइस र  डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले ‘अत्यन्तै खतरनाक’ मानेका व्यक्तिहरूलाई लक्षित गरिरहेको छ। यस अभियानका लागि उनीहरूले एजेन्सीको एसडब्ल्युएटी टोली सरह मानिने विशेष रेस्पोन्स टोलीसँग मिलेर काम गरिरहेका छन्।

आइसले पहिलो निशानाका रूपमा जोनी अल्फ्रेडो एस्टुम्बे चिलेनोलाई पहिचान गरेको थियो। उनीविरुद्ध बालबालिका बलात्कारको आरोपमा इक्वेडरबाट ‘इन्टरपोल रेड नोटिस’ जारी भएको थियो। उनी आफ्नो घरबाट बाहिर निस्कने बित्तिकै विशेष रेस्पोन्स टोलीले घेराबन्दी गरेर बिना कुनै झन्झट नियन्त्रणमा लिएको थियो।

उक्त पक्राउको केही घण्टापछि टोली अर्को निशानाको खोजीमा लाग्यो। घरभित्र बालबालिका भएकाले संदिग्ध व्यक्ति आफैँ बाहिर निस्कियोस् भनी आइसले पर्खिरहेको थियो। तर, त्यो अवसर नमिल्दा अधिकारीहरूले घर घेरेर आफ्नो उपस्थिति घोषणा गर्दै वारेन्ट देखाए।

भित्र रहेका व्यक्तिहरूले बाहिर आउन अस्वीकार गरेपछि, टोलीले ढोका फुटाउने औजार प्रयोग गरी ढोका ढलाएर २४ वर्षीय गिम्लर एडोनिस मारेस रेयसलाई पक्राउ गर्‍यो। होन्डुरसका नागरिक रेयसविरुद्ध पुनः अवैध प्रवेश, बन्दुक देखाएर आक्रमण गरेको र कोकिन राखेको मुद्दाका साथै ‘ड्रयाङ्क एन्ड ड्राइभ’को वारेन्ट जारी थियो।

एजेन्सीका सहायक फिल्ड डाइरेक्टर स्टिभ केमरलिङका अनुसार, घरभित्र बालबालिका हुने भएकाले सुरक्षाका लागि उनीहरूलाई बाहिरै पक्राउ गर्ने प्रयास गरिन्छ। तर, जोखिम कम गर्दै उद्देश्य हासिल गर्न एजेन्सी जुनसुकै कदम चाल्न तयार रहेको उनले बताए।

केमरलिङले बताए अनुसार अहिले नर्थ र साउथ क्यारोलिनामा उनीहरूका लागि सबैभन्दा ठूलो चुनौती हिरासत कक्षको कमी हुनु हो। पक्राउ परेका हरेक व्यक्तिलाई दक्षिण जोर्जियासम्म पुर्‍याउनुपर्ने बाध्यता छ। प्रशासनले नयाँ हिरासत भवनहरू बनाउनुको साटो हाल रहेका राज्य र काउन्टीका संरचनाहरूलाई नै विस्तार गरिरहेको छ।

यसैगरी, आइसले विमानस्थलहरूमा पनि पक्राउ अभियान चलाइरहेको छ। टिएसए जस्ता निकायहरूसँग सूचना आदानप्रदान गरी उनीहरूले संदिग्ध व्यक्तिको यात्रा  ट्र्याक गरेर विमानस्थलमै नियन्त्रणमा लिने गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सार्लोट क्षेत्रमा अब ट्राफिक स्टप र अपरेशनका क्रममा पारदर्शिता कायम गर्न अधिकारीहरूलाई ‘बडी क्यामेरा’ अनिवार्य गरिँदैछ। राज्यका मुख्य अधिकारीका अनुसार यसै हप्ताको अन्त्यसम्ममा त्यहाँका सबै अधिकारीहरूलाई बडी क्यामेरा उपलब्ध गराइनेछ, जसले गर्दा हरेक कारबाहीको स्पष्ट प्रमाण उपलब्ध हुन सकोस्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com