डोनाल्ड ट्रम्पको अध्यागमन नीति: आफ्नै दलमा बलियो समर्थन, तर बहुमत अमेरिकी असन्तुष्ट


प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार

अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : एलेक्स ब्रान्डन/एपी-रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि इरान वा अर्थतन्त्रको तुलनामा अध्यागमन अझै पनि तुलनात्मक रूपमा बलियो मुद्दाका रूपमा देखिएको छ। तर, गत जुलाईमा आइसका एजेन्टहरूसँगका मुठभेडमा तीन जनाको मृत्यु भएपछि अध्यागमनसम्बन्धी उनको समग्र लोकप्रियतामा भने कमी आएको छ।

‘द एसोसिएटेड प्रेस-एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्च’ ले गरेको नयाँ सर्वेक्षण अनुसार, अमेरिकी जनताले ट्रम्पको अध्यागमन नीतिको पूर्ण समर्थन गरेका छैनन्। अध्यागमन सम्हाल्ने ट्रम्पको शैलीलाई ३९ प्रतिशत अमेरिकी वयस्कहरूले मात्र अनुमोदन गरेका छन्, जुन उनको दोस्रो कार्यकालको सुरुमा ४९ प्रतिशत थियो।

समग्र लोकप्रियता घटे पनि ट्रम्पको आफ्नै दल रिपब्लिकन समर्थकहरू माझ उनको अध्यागमन नीतिको लोकप्रियता स्थिर छ। सर्वेक्षण अनुसार, करिब १० मध्ये ८ जना (८०%) रिपब्लिकनहरूले ट्रम्पले अध्यागमन मुद्दा सम्हालेको तरिकालाई समर्थन गरिरहेका छन्। यो दर उनको दोस्रो कार्यकालको सुरुवातमा ९० प्रतिशत थियो।

इरान र अर्थतन्त्रको तुलनामा रिपब्लिकनहरू ट्रम्पको अध्यागमन नीतिप्रति बढी सकारात्मक देखिएका छन्। पछिल्लो एक महिनामा इरानसँगको तनाव व्यवस्थापनमा ट्रम्पप्रति रिपब्लिकनहरूको समर्थनमा केही गिरावट आएको छ।

सर्वेक्षण अनुसार, करिब आधा (४७%) अमेरिकी वयस्कहरूले अमेरिकामा गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई देशनिकाला गर्ने सन्दर्भमा ट्रम्पले हद नाघेको बताएका छन्। सामूहिक देशनिकाला अभियान सुरु भएयता अध्यागमन अधिकारीहरूसँगको मुठभेडमा कम्तीमा १० जनाको मृत्यु भइसकेको छ।

अधिकांश अमेरिकीहरूले गैरकानुनी आप्रवासीहरू पत्ता लगाउन ट्राफिक चेकिङको प्रयोग गर्ने र सहरहरूमा संघीय अध्यागमन एजेन्टहरू खटाउने नीतिको विरोध गरेका छन्। यद्यपि, रिपब्लिकन समर्थकहरूले भने यसलाई ट्रम्पको सही कदमका रूपमा व्याख्या गर्दै आएका छन्।

अध्यागमनको तुलनामा अर्थतन्त्रका मामिलामा ट्रम्पको साख झनै कमजोर देखिएको छ। अर्थतन्त्रतर्फ केवल ३२ प्रतिशत अमेरिकीहरूले मात्र ट्रम्पको आर्थिक नीतिको समर्थन गरेका छन्। उनको पहिलो कार्यकालमा अर्थतन्त्रमा सबैभन्दा कम अनुमोदन दर डिसेम्बर २०१७ मा ४० प्रतिशत थियो, तर अहिले त्योभन्दा पनि तल झरेको छ। हाल करिब ७० प्रतिशत अमेरिकीहरूले देशको अर्थतन्त्रलाई “कमजोर” वा “खराब” मानेका छन्।

स्वास्थ्य सेवा तर्फ पनि ट्रम्पको प्रदर्शनप्रति बहुमत अमेरिकीहरू असन्तुष्ट नै देखिएका छन्। केवल ३० प्रतिशतले मात्र उनको स्वास्थ्य नीतिको समर्थन गरेका छन्। यद्यपि, रिपब्लिकनहरू माझ भने उनको समर्थन अघिल्लो वर्षको ५९ प्रतिशतबाट बढेर ७१ प्रतिशत पुगेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो सर्वेक्षण जुलाई २३ देखि २७ को बीचमा १,१६५ जना अमेरिकी वयस्कहरू माझ गरिएको थियो, जसको त्रुटि सीमा ३.७ प्रतिशत बिन्दु रहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com