जुलाईमा आइसको कारबाहीले नयाँ रेकर्ड कायम ४६ हजारभन्दा बढी आप्रवासी हिरासतमा


प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार

तस्वीर : आइस

आइसको आन्तरिक तथ्याङ्कअनुसार, जुलाई महिनामा दोस्रो ट्रम्प प्रशासनअन्तर्गत आप्रवासीहरूलाई हिरासतमा लिने दरले नयाँ रेकर्ड कायम गरेको छ। एजेन्सीले विमानस्थल, अध्यागमन चेक-इन कार्यालय र अमेरिकाभरका विभिन्न समुदायहरूमा आफ्ना कारबाहीलाई तीव्र पारेको छ।

होमल्यान्ड सेक्युरिटीको प्रारम्भिक तथ्याङ्कअनुसार, गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेको वा भिसाको अवधि सकिएपछि पनि बसेको जस्ता अध्यागमन नियम उल्लङ्घनको आरोपमा गत महिना ४६,००० भन्दा बढी मानिसहरूलाई देशनिकालाको प्रक्रियाका लागि आइसले हिरासतमा लिएको छ।

सार्वजनिक नभएको यो तथ्याङ्कले ह्वाइट हाउसबाट दैनिक २,००० जनालाई गिरफ्तार गर्ने दबाब सामना गरिरहेको आइसको कारबाही जुलाईमा अझ तीव्र भएको देखाउँछ। गत महिना औसतमा दैनिक १,५०० जना नयाँ हिरासतमा परेका थिए, जसमध्ये केहीलाई सुरुमा भन्सार तथा सीमा सुरक्षा  एजेन्टहरूले गिरफ्तार गरेका थिए।

जुलाईमा भएको ४६,००० भन्दा बढीको यो गिरफ्तारीले जुन महिनाको करिब ४३,००० को आँकडालाई नाघेको छ, जुन राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको अहिलेसम्मकै उच्च थियो। आन्तरिक तथ्याङ्कअनुसार यो साताको अन्त्यसम्ममा आइसले आफ्ना विभिन्न हिरासत केन्द्रहरूमा ६८,००० भन्दा बढी मानिसहरूलाई राखिसकेको छ, जुन जनवरीको ७०,००० को रेकर्ड नजिक पुगेको छ।

यसअघि मिनियापोलिसमा एक कारबाहीका क्रममा दुई अमेरिकी नागरिक-रेनी गुड र एलेक्स प्रेटीको संघीय एजेन्टहरूद्वारा मृत्यु भएपछि चर्को आलोचना भई गिरफ्तार दर घटेको थियो। तर, यो गृष्मऋतुमा ट्रम्प प्रशासनको कारबाही पुन: बढेको छ।

ट्रम्प प्रशासनले डेमोक्र्याटिक नेतृत्वका सहरहरूमा गरिने ठूला र प्रत्यक्ष कारबाहीहरू स्थगित गरे पनि, विमानस्थलमा कडाइ, सवारी साधन जाँच र नयाँ भर्ना गरिएका एजेन्टहरूको परिचालनमार्फत पछिल्ला हप्ताहरूमा गुप्त रूपमा गिरफ्तारीको संख्या बढाएको छ।

होमल्यान्ड सेक्रेटरी मार्कवेन मुलिनले आइसलाई मिडियाको विवादबाट टाढा राख्दै ट्रम्पको अमेरिकी इतिहासकै सबैभन्दा ठूलो देशनिकाला अभियान पूरा गर्ने उद्देश्यका साथ यसै वसन्तमा क्रिस्टी नोएमलाई विस्थापित गरेका थिए।

तर, यो नयाँ चरणको कारबाहीले फेरि विवाद सिर्जना गरेको छ। गत महिना टेक्सस र मेनमा सवारी साधन जाँचका क्रममा आइस अधिकारीहरूले लोरेन्जो साल्गाडो अराउजो र जोहान सेबास्टियन दुरान ग्वेरेरो नामक दुई आप्रवासीको गोली हानी हत्या गरेपछि व्यापक विरोध भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी घटनापछि आइसले सवारी साधन जाँचमा रोक लगाएको थियो, तर राष्ट्रपति ट्रम्पले २४ घण्टाभित्रै उक्त निर्णय उल्टाइदिए। दुवै घटनाको संघीय र स्थानीय स्तरमा अनुसन्धान जारी छ।

यसैगरी, देशभरका विमानस्थलका गेट र चे–इन काउन्टरहरूमा सादा पोशाकका आइस एजेन्टहरूले मानिसहरूलाई पक्राउ गरिरहेका भिडियोहरू भाइरल भएका छन्। यातायात सुरक्षा प्रशासनसँगको सहकार्यका कारण आइसले म्याद सकिएका आप्रवासीहरूको विवरण प्राप्त गरी यो कारबाही सम्भव बनाएको हो।

यसबाहेक, ट्रम्प प्रशासनले ३ लाखभन्दा बढी हाइटीका आप्रवासीहरूको ‘अस्थायी संरक्षित स्थिति’ समाप्त गरिदिएको छ। ओहायोका केही हाइटीका आप्रवासीहरूलाई स्थानीय आइस कार्यालयमा उपस्थित हुन सूचना आउन थालेपछि आप्रवासी समुदायमा त्रास फैलिएको छ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्षमा ३० लाखभन्दा बढी गैरकानुनी आप्रवासीहरूले अमेरिका छाडेका छन्, जसमा अनुमानित २२ लाख ‘स्व-देशनिकाला’ परेका छन्। जुलाई १२ सम्ममा हामीले ९ लाख ८५ हजारभन्दा बढीलाई देशनिकाला गरिसकेका छौँ र १० लाखभन्दा बढीलाई गिरफ्तार गरेका छौँ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com