अमेरिकामा अध्यागमन हिरासतभित्र चिकित्सकीय लापरवाही, ट्रम्प प्रशासनविरुद्ध १० मिलियन डलरको मुद्दा


प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार

brown wooden tool on white surface

फोटो : टिन्गी इन्जुरी ल फर्म

गत वर्ष त्रिनिडाड र टोबागोमा देश निकाला गरिएका ५५ वर्षीय पूर्व अमेरिकी स्थायी निवासी एल्टन पर्भिसले दक्षिण टेक्ससस्थित अध्यागमन हिरासत केन्द्रमा गम्भीर चिकित्सकीय लापरवाही र दुर्व्यवहार भोगेको भन्दै अमेरिकी सरकारसँग १० मिलियन अमेरिकी डलर क्षतिपूर्तिको दाबी गरेका छन्।

अमेरिकन सिभिल लिबर्टिज युनियन फाउन्डेसन अफ टेक्ससले पर्भिसका तर्फबाट यो कानूनी दाबी दर्ता गराएको हो। संघीय निकायहरूबाट गम्भीर हिंसा, दुर्व्यवहार र लापरवाहीको शिकार भएका व्यक्तिहरूका तर्फबाट एसीएलयुले अमेरिकाभर दायर गरेका दर्जनौँ मुद्दाहरूमध्ये यो पनि एक हो।

९ जना अमेरिकी नागरिक बालबालिकाका पिता पर्भिसलाई सन् २०२५ को मे महिनामा आफ्ना दुई छोराको दीक्षान्त समारोहमा सहभागी हुन अमेरिका फर्कने क्रममा बोस्टनको लनग एयरपोर्टबाट अमेरिकी आइसका अधिकारीहरूले नियन्त्रणमा लिएका थिए। हिरासतमा लिइँदा उनी मलेरिया रोगबाट पीडित थिए।

दाबी पत्रका अनुसार, आइस अधिकारीहरूले पर्भिसको इन्सुलिन र मलेरियाको औषधि जफत गरी उनलाई प्रयोग गर्न दिएका थिएनन्। हिरासतमा राखिएको पहिलो १२ दिनसम्म उनलाई मलेरियाको कुनै पनि उपचार उपलब्ध गराइएन।

टाइप-१ मधुमेहबाट पीडित पर्भिसलाई नियमित स्वास्थ्य अनुगमन र विशेष उपचारको आवश्यकता थियो। तर, दक्षिण टेक्सस डिटेन्सन कम्प्लेक्ससहित विभिन्न हिरासत केन्द्रहरूमा बिताएका सात महिनाको अवधिमा उनलाई निरन्तर उपचार सेवाबाट वञ्चित गरियो।

हिरासतमा रहँदा रगतमा चिनीको मात्रा  अत्याधिक घटेका कारण पर्भिस कम्तीमा तीन पटक आफ्नो कोठामा बेहोस भेटिएका थिए भने जटिल स्वास्थ्य अवस्थाका कारण उनलाई पटक-पटक अस्पताल भर्ना गर्नुपरेको थियो।

‘अमेरिकन सिभिल लिबर्टिज युनियन’फाउन्डेसनका अधिवक्ता क्यारो रिभेरा नेल्सनले पर्भिसको यो घटना टेक्ससका अध्यागमन हिरासत केन्द्रहरूमा रहेका अन्य हिरासतकर्ताहरूले भोगिरहेको भयावह अवस्थाको प्रतिनिधि उदाहरण भएको बताएका छन्।

हिरासतमा रहेका व्यक्तिहरूलाई पर्याप्त स्वास्थ्य उपचार, खानयोग्य खाना, शुद्ध पिउने पानी र बाहिरिने कुनै माध्यम बिना महिनाौँसम्म अमानवीय अवस्थामा राखिन्छ। हिरासतमा रहँदा श्री पर्भिसले चिकित्सकीय सहायताका लागि आइसलाई १०० भन्दा बढी गुनासो र निवेदन दिएका थिए, तर कुनै सुनुवाइ भएन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो पीडादायी अनुभव साट्दै पर्भिसले भने, “हिरासतले मेरो हिम्मत तोडिदियो। उनीहरूले मलाई मार्न खोजिरहेका छन् जस्तै महसुस हुन्थ्यो। म स्वास्थ्य उपचार पाउनका लागि निकै आतुर थिएँ। धेरै पटक मलाई लाग्यो कि म डायबेटिक शकको अवस्थामा पुग्नै लागेको छु। रगतमा चिनीको मात्रा घट्दा, श्वासप्रश्वासमा समस्या आउँदा र आँखा अगाडि अँध्यारो छाउँदा मैले सुरक्षाकर्मीहरूसँग मद्दतका लागि अनुनय-विनय गर्नुपर्थ्यो।

‘अमेरिकन सिभिल लिबर्टिज युनियन’फाउन्डेसनले हालसम्म यस्तै प्रकृतिका ५४ वटा क्षतिपूर्तिको दाबी अमेरिकाका १७ राज्य र वासिङ्टन डीसीमा दर्ता गराइसकेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com