अमेरिकामा आप्रवासन कडाइका कारण निर्माण क्षेत्र प्रभावित, कामदारको माग गर्दै टेक्सासका व्यवसायी सडकमा


प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार

Photo:Documerica/ Unsplash

रियो ग्रान्डे भ्याली र टेक्सासभरिका निर्माण व्यवसायीहरू बुधबार फार शहरमा भेला भई हालैका आप्रवासन कारबाहीका कारण गम्भीर कामदारको अभाव सिर्जना भएको जनाएका छन्। यसले निर्माण आयोजनाहरू ढिला हुनुका साथै नयाँ घर बनाउने लागत समेत बढाएको उनीहरूको भनाइ छ।

साउथ टेक्सास बिल्डर्स एसोसिएसनले आयोजना गरेको “र्‍याली द भ्याली” कार्यक्रममा ठेकेदार, व्यवसायी र अमेरिकी कंग्रेसका सदस्यहरूले कानुनी कार्य अनुमति विस्तार गर्न र चुलिँदो जनशक्ति संकट समाधान गर्न आप्रवासन सुधारको माग गरेका छन्।

एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत मारियो गुएरेरोले भने, यो केवल आप्रवासनको विषय मात्र होइन; यो जनशक्ति, अर्थतन्त्र, आवास र अन्ततः नेतृत्वको पनि विषय हो।

निर्माण व्यवसायीहरूका अनुसार ट्रम्प प्रशासन अन्तर्गत भएका हालैका आप्रवासन कडाइ कार्यस्थलबाट सडकतर्फ सरेका छन्। कामदारहरू कार्यस्थल वा निर्माण सामग्री पसलतिर जाँदै गर्दा गाडी रोकेर नियन्त्रणमा लिने गरिएको उनीहरूको दाबी छ। सीढी, काठ र अन्य निर्माण सामग्री बोकेका गाडीहरूलाई बारम्बार ट्राफिक चेकिङको निशाना बनाइँदा कामदारहरूमा डरको वातावरण सिर्जना भएको छ।

समिट भ्याली होमका मालिक जाभियर भास्कवेजका अनुसार त्रासका कारण धेरै कामदारहरू काममा आउनै छाडेका छन्, जसले गर्दा केही आयोजनाहरू दुई देखि तीन महिनासम्म ढिला भइसकेका छन्।

अमेरिकन बिजनेश इमिग्रेशन कोअलिसनका टेक्सस उप-निर्देशक तथा निर्माण व्यवसायी एमिलियानो भ्यालेन्सियाले डरका कारण कामदार नआउँदा हालैका हप्ताहरूमा आठ जना ठेकेदार गुमाउनु परेको बताए। उनले निर्माण सामग्री बोकेका गाडीहरूलाई लक्षित गरी रोकिएको आरोप लगाउँदै यो घाटा अन्ततः घरखरिदकर्ता माथि नै थपिने स्पष्ट पारे।

कार्यक्रममा उपस्थित अमेरिकी सांसदहरू भिसेन्टे गोन्जालेज र हेन्री कुएयारले निर्माण क्षेत्रमा कामदारको अभाव हटाउन कानुनी कार्य अनुमतिको दायरा बढाउनुपर्नेमा जोड दिए। सांसद गोन्जालेजले वर्तमान कारबाही शैलीलाई अत्यधिक आक्रामक र अमानवीय भन्दै कार्य अनुमतिले कामदारको उपलब्धता बढाएर मुद्रास्फीति घटाउन मद्दत पुर्याउने बताए।

र्‍यालीका क्रममा ‘साउथ टेक्सास बिल्डर्स एसोसिएसन’ले एक निवेदन समेत सार्वजनिक गरेको छ। जसमा कार्यस्थलमा हुने छापा मार्ने कार्य बन्द गर्न, आइस एजेन्टहरूले कारबाहीका क्रममा ‘बोडी क्यामेरा’ प्रयोग गर्नुपर्ने र अनुहार ढाक्ने कपडा हटाउनुपर्ने माग राखिएको छ। एसोसिएसनका नेताहरूले उक्त याचिका वासिङ्टन डी.सी. लगेर संघीय कानुन निर्माताहरूलाई बुझाउने योजना बनाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com