अमेरिकी अध्यागमन प्रणाली दुरुपयोग गरेको अभियोगमा भारतीय मूलका वकिल कारबाहीमा


प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार

brown wooden stand with black background

Photo by Tingey Injury Law Firm

अमेरिकामा आइसले दर्जनौ ग्राहकहरूका तर्फबाट शरणार्थी दाबी गर्दा झुटा कागजात पेस गरेको आरोपमा न्यूयोर्कका एक अध्यागमन वकिलविरुद्ध ४ लाख ७० हजार अमेरिकी डलरभन्दा बढी नागरिक जरिवाना माग गरेको छ।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार ‘होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्स’ले वकिल सुरज राज सिंहलाई जरिवाना तिराउने आशयको सूचना जारी गरेको छ। सिंहको कानुन व्यवसायी टोलीले मुख्यतया अमेरिकी अध्यागमन अदालतहरूमा शरण खोजिरहेका भारतीय नागरिकहरूको प्रतिनिधित्व गर्दै आएको छ।

आइसको आरोप अनुसार सिंहले ५४ वटा अध्यागमन मुद्दाहरूमा ११८ वटा झुटा तथा किर्ते कागजात तयार गरी अदालतमा पेस गरेका थिए। जसका कारण एजेन्सीले कानुनबमोजिम तोकिएको अधिकतम जरिवाना रकम- $४७०,५८४ करिब ४ लाख ७० हजार ५ सय ८४ डलर दाबी गरेको छ।

होमल्यान्ड सेक्युरिटीका अनुसार सिंहका ग्राहकहरूका तर्फबाट पेस गरिएका शरणार्थी दाबीका बयानहरू भाषा, शैली र विषयवस्तुका दृष्टिले उस्तै वा लगभग दुरुस्तै थिए। ती सबै कागजातहरूमा उत्पीडनसम्बन्धी उस्तै घटना र विवरणहरू दोहोऱ्याइएका थिए।

होमल्यान्ड सेक्युरिटीकाका जनरल काउन्सिल जेम्स पर्सीभलले भने, फर्जी शरणार्थी दाबीले अमेरिकी जनताको सुरक्षामा खतरा पुर्‍याउँछ, हाम्रो अध्यागमन प्रणालीलाई कमजोर बनाउँछ र खतरनाक अपराधीहरूलाई देश निकाला गर्ने प्रक्रियामा ढिलाइ गराउँछ। राष्ट्रपति ट्रम्प र सचिव मल्लिनको नेतृत्वमा हामी अध्यागमन प्रणालीको दुरुपयोग गर्ने यस्ता वकिलहरूलाई जबाफदेही बनाउनेछौँ।

डिपार्टमेन्टका अनुसार अध्यागमनसम्बन्धी कागजात किर्ते गरेको अभियोगमा अध्यागमन वकिलविरुद्ध नागरिक जरिवाना माग गरिएको यो दोस्रो पटक हो। यसअघि गत महिना पनि अर्का वकिल विनोद दोड्डामानीलाई कागजात किर्ते गरेको आरोपमा कुल $२५५,२३२ जरिवानाको सूचना जारी गरिएको थियो।

जरिवाना तिराउने आशयको सूचना एक प्रस्तावित कारबाही हो, जसले जरिवाना अन्तिम हुनुअघि सम्बन्धित व्यक्तिलाई आफ्नो सफाइ वा जबाफ पेस गर्ने अवसर प्रदान गर्दछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com