अमेरिकाका विमानस्थलमा अध्यागमन कडाइ, टीएसए र आइसको सहकार्यमा आप्रवासी पक्राउ तीव्र


प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार

फोटो: होमल्याण्ड सेक्युरिटी

अमेरिकाका विभिन्न विमानस्थलहरूबाट गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीहरू पक्राउ पर्न थालेका छन्। पछिल्ला दिनहरूमा भाइरल भएका भिडियोहरू र सीमा तथा भन्सार अधिकारीहरूलाई उद्धृत गरिएका समाचार अनुसार, यो यातायात सुरक्षा प्रशासन र आइसबीच बढेको समन्वयको नतिजा हो।

 टीएसएले भिसा अवधि सकिएर बसेका वा अन्य नागरिक नियम उल्लङ्घन गरेका तर कुनै आपराधिक पृष्ठभूमि नभएका गैरनागरिक यात्रुहरूको विवरण पनि आइससँग साझा गर्न थालेको छ। टीएसए अधिकारीहरूले दिएका ‘सुराग’ वा ‘सूचना’का आधारमा आइसले निष्कासनको सूचीमा रहेका व्यक्तिहरूलाई विमानस्थलबाटै नियन्त्रणमा लिई डिपोर्टेशन प्रक्रिया अगाडि बढाउने गरेको छ।

अध्यागमन वकिलहरूका अनुसार राष्ट्रपति ट्रम्पको नयाँ आप्रवासन नीतिका कारण अस्थायी कार्य अनुमति वा आवेदन विचाराधीन अवस्थामा रहेका तर स्थायी कानुनी स्थिति नभएका व्यक्तिहरू पनि यसको चपेटामा परेका छन्।

यसअघि दुवै निकायहरू मानव तस्करी वा लागूऔषध ओसारपसारजस्ता गम्भीर आपराधिक क्रियाकलापमा मात्रै सीमित रहेर काम गर्थे। तर सन् २०२५ को मे महिनामा दुई निकायबिच भएको सम्झौतापछि गैरकानुनी रूपमा बसेका व्यक्तिहरूलाई पनि विमानस्थलमै पक्राउ गर्न थालिएको हो। आइसका अधिकारीहरूका अनुसार पूर्वजानकारी हुने र सुरक्षित क्षेत्र हुने भएकाले विमानस्थलहरूबाट पक्राउ गर्न सहज हुने गरेको छ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले एक वक्तव्य जारी गर्दै बाइडेन प्रशासनको खुकुलो नीति उल्ट्याइएको र गैरकानुनी रूपमा रहेका व्यक्तिहरूलाई अमेरिकाभित्र आन्तरिक उडान गर्न नदिइने स्पष्ट पारेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com