एसियामा फैलिँदै अनलाइन ठगीका कम्पाउन्ड, शिक्षित युवामाथि आपराधिक सञ्जालको निशाना


प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार

Photo: Towfiqu barbhuiya/Unsplash

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय प्रवासन सङ्गठनले आपराधिक सञ्जालहरूले सयौँ-हजारौँ मानिसहरूलाई अनलाइन ठगी  केन्द्रहरूमा काम गराउने उद्देश्यले बन्धक बनाई बेचबिखन गरिरहेको चेतावनी दिएको छ। यसरी ठगिनेहरूमा धेरैजसो पढेलेखिएका र अंग्रेजी भाषामा दक्ष व्यक्तिहरू रहेका छन्।

आईओएमका अनुसार, तस्करहरूले प्रायः सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीको आकर्षक झूटो विज्ञापन देखाएर मानिसहरूलाई लोभ्याउने गरेका छन्। वैदेशिक रोजगारीका लागि पुगेपछि उनीहरूको राहदानी र पहिचान पत्र जफत गरिन्छ। त्यसपछि हिंसा, मानसिक धम्की र ऋणको बन्धनमा पारेर उनीहरूलाई गैरकानुनी अनलाइन ठगीका काममा जबर्जस्ती लगाइने गरेको छ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा आईओएमकी महानिर्देशक एमी पोपले भनिन, यो हामीले हालका दिनहरूमा यस्ता घटनाहरू तीव्र रूपमा बढेको देखिरहेका छौँ। विश्वका ८० भन्दा बढी देशका नागरिकहरू यस्ता स्क्याम केन्द्रहरूमा बेचबिखनको शिकार भएका छन्।

उनका अनुसार आपराधिक गिरोहहरूले विशेष गरी राम्रो अंग्रेजी बोल्न सक्ने, स्नातकोत्तर वा सोभन्दा माथिल्लो स्तरको शिक्षा हासिल गरेका व्यक्तिहरूलाई लक्षित गरिरहेका छन्। यो समस्या विशेष गरी एसियाली क्षेत्रहरूमा व्यापक रूपमा फैलिरहेको छ।

संयुक्त राष्ट्रसङ्घीय लागूपदार्थ तथा अपराध नियन्त्रण कार्यालयको अनुमान अनुसार गत वर्ष पूर्वी एसिया, अस्ट्रेलिया र न्युजिल्यान्डमा मात्रै अनलाइन ठगीका कारण ११४ अर्ब अमेरिकी डलरसम्मको आर्थिक क्षति भएको छ। यस क्षेत्रका ठगी कम्पाउन्डहरूमा सयौँ-हजारौँ बेचबिखनमा परेका श्रमिकहरूलाई बन्दी बनाएर काम गराइएको अनुमान छ।

आईओएमले सन् २०२२ देखि २०२५ को अवधिमा ३,५०० भन्दा बढी यस्ता पीडितहरूलाई सहायता प्रदान गरिसकेको जनाएको छ। ती पीडितहरू करिब ४० देशका नागरिक थिए, जसमा इन्डोनेसिया, भारत, श्रीलंका, इथियोपिया, केन्या र बंगलादेशका मानिसहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com