अमेरिकामा आप्रवासी बालबालिकाको विवरण प्रयोग गरी १२ हजारभन्दा बढी पक्राउ


प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार

Photo: Sandra Seitamaa/ Unsplash

अमेरिकामा शरणार्थी र आप्रवासी बालबालिकाको हेरचाह गर्ने सरकारी निकाय ‘अफिस अफ रिफ्युजी रिसेटलमेन्ट’ ले दिएको गोप्य विवरणका आधारमा अध्यागमन अधिकारीहरूले १२ हजारभन्दा बढी आप्रवासीहरूलाई पक्राउ गरेका छन्।

आन्तरिक सरकारी तथ्यांकअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता ओआरआरले आइसलाई ४ लाख ६० हजारभन्दा बढी बालबालिका, तिनका अभिभावक तथा घरका अन्य सदस्यहरूको विवरण बुझाएको छ।

सन् १९८० मा स्थापित ओआरआरको मुख्य काम युद्ध र उत्पीडनबाट भागेका शरणार्थीहरूको व्यवस्थापन गर्नुका साथै सिमानामा एक्लै आइपुग्ने आप्रवासी बालबालिकाहरूलाई संरक्षण दिनु हो। सन् २००८ को कानुनअनुसार बालबालिकाको संरक्षण र उनीहरूका अभिभावकको अध्यागमन स्थिति लाई अलग राखिँदै आएको थियो। तर वर्तमान प्रशासनले सो व्यवस्थालाई पूर्ण रूपमा उल्टाउँदै बालबालिका बुझ्न आउने अभिभावकहरूकै विवरण प्रयोग गरेर धरपकड तीव्र पारेको छ।

यस नीतिको प्रत्यक्ष मारमा परेकी छिन् २४ वर्षीया अरोरा। दुई वर्षअघि गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेकी उनले आफ्नी ६ वर्षीया छोरीलाई पछि सीमा क्षेत्रमा पठाएकी थिइन्। छ महिनासम्म सरकारी सेल्टरमा रहेकी छोरीलाई फिर्ता पाउन उनले आफ्नो डीएनए  परीक्षणसहित तमाम कागजात बुझाइन्। तर छोरीसँग पुनर्मिलन भएको केही दिनमै अध्यागमन अधिकारीहरूले दुवै जनालाई नियन्त्रणमा लिएर टेक्सासस्थित परिवार हिरासत केन्द्रमा पठाए।

त्यस्तै, अर्की आप्रवासी महिला मार्लेनीले आफ्ना १८ वर्षीय छोरा भिक्टरलाई सेल्टरबाट छुटाउन कर चुक्ता गरेको प्रमाण र औँठाछाप बुझाएकी थिइन्। तर छोरा घर फर्किएको दुई महिनापछि आइस अधिकारीहरूले उनलाई र उनका पार्टनरलाई बन्दुकको भरमा पक्राउ गरे। अहिले भिक्टर आफ्ना ६ वर्षका भाइको हेरचाह एक्लै गर्न बाध्य छन्।

अध्यागमन अधिकारीहरूका अनुसार हाल अभिभावकहरूको छानबिन प्रक्रिया कडा बनाइएकाले बालबालिका सेल्टरमा बस्नुपर्ने औसत समय ३० दिनबाट बढेर १९४ दिन पुगेको छ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले भने आपराधिक पृष्ठभूमि भएका वा प्रमाण नपुगेका व्यक्तिहरूबाट बालबालिकालाई जोगाउन यो कदम चालिएको दाबी गरेको छ। तर बाइडेन प्रशासनका पालामा ओआरआरकि उपनिर्देशक रहेकी जेन स्माइयर्सका अनुसार यो बालबालिकाको कल्याणकारी कार्यक्रमलाई थप मानिसहरूलाई देश निकाला गर्ने हतियारका रूपमा दुरुपयोग गरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com