ग्रिन कार्डवाहक महिला ११ महिनादेखि आइस हिरासतमा: दशक पुरानो कसुरका कारण देश निकालाको जोखिम
प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार
तस्वीर : आइस
अमेरिकामा विगत दुई दशकभन्दा बढी समयदेखि ग्रिन कार्ड बोकेर बसोबास गर्दै आएकी पोल्यान्डकी एक महिलालाई एक दशकभन्दा पुराना सामान्य कसुरका आधारमा अध्यागमन अधिकारीहरूले ११ महिनादेखि हिरासतमा राखेका छन्।
पोल्यान्डकी ५० वर्षीया नागरिक बिएटा सेमियोनकोविचलाई सन् २०२५ अगस्ट २ मा इलिनोइको डेस प्लेन्सस्थित आफ्नै छोरीको घरको आँगनमा गोडमेल गरिरहेका बेला आइसका अधिकारीहरूले पक्राउ गरेका थिए। त्यसयता उनी केन्टकीको क्याम्पबेल काउन्टी डिटेन्सन सेन्टरमा थुनामा छिन्।
सेमियोनकोविचका अनुसार उनलाई राखिएको जेलको अवस्था निकै दयनीय छ। भेन्टिलेटरमा कालो लेउ जमेको, कुनामा मरेका उडुसहरू र ढोकामा रगतका दागहरू रहेका कोठामा ६० जना अन्य महिलाहरूसँग उनले रात बिताउनुपरेको छ। तीमध्ये धेरैजसो उनी जस्तै अध्यागमन नियन्त्रणमा परेका विदेशी नागरिकहरू छन्।
बिएटाले सबै कागजी प्रक्रिया सही तरिकाले पूरा गरेकी थिइन्, उनले नागरिकताका लागि समेत आवेदन दिएकी थिइन्, उनीसँगै थुनामा परेकी र हालै रिहा भएकी आयरल्यान्डकी नागरिक डोना ह्युज-ब्राउनले भनिन्, उनले सबै कुरा नियमसंगत गरेकी थिइन्, तर त्यसको कुनै अर्थ राखिएन।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार सेमियोनकोविचलाई सन् २००५ र २०११ मा खुद्रा पसलबाट कपडा र साना सामान चोरी गरेको मुद्दाका आधारमा पक्राउ गरिएको हो। अदालतका कागजात अनुसार उनले ती पुराना मुद्दाहरूको जरिवाना र सजाय धेरै वर्षअघि नै भुक्तान गरिसकेकी छिन्। उनका छोरीहरूका अनुसार सम्बन्धविच्छेदपछिको आर्थिक कठिनाइका बेला उनले बालबालिकाका लागि कपडा चोरी गरेकी थिइन्।
अध्यागमन विभागका प्रवक्ताले ग्रिन कार्ड अधिकार नभई एउटा सुविधा भएको भन्दै कानुन उल्लंघन गर्नेको ग्रिन कार्ड खारेज गर्ने अधिकार सरकारसँग रहेको बताएका छन्। सन् २०२५ डिसेम्बरमा अध्यागमन न्यायाधीशले उनलाई देश निकाला गर्ने आदेश दिएका थिए, जसविरुद्ध उनको परिवारले पुनरावेदन हालेको छ।
सेमियोनकोविचका दुई छोरीहरू-२५ वर्षीया क्लाउडिया र २१ वर्षीया गाबीले आफ्नी आमाको रिहाइका लागि कानुनी लडाइँ लडिरहेका छन्। गाबीले आमाको घरको किस्ता, बिजुलीको बिल र वकिलको शुल्क तिर्न नर्सिङ अध्ययनसमेत केही समयका लागि स्थगित गरेकी छिन्।
उनीहरूले इलिनोइका सिनेटर डिक डर्बिनको कार्यालयसँग सहयोग मागिरहेका छन्। साथै, ह्युज-ब्राउनको मुद्दामा जित दिलाउने वकिललाई नै उनीहरूले नियुक्त गरेका छन्। उनीहरूसँगै जेल परेकी ह्युज-ब्राउनको मुद्दा अन्तर्राष्ट्रिय स्तरमा चर्चामा आएपछि अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो। सोही दृष्टान्तका आधारमा सेमियोनकोविचलाई पनि डिपोर्ट नगरी रिहा गराउन सकिनेमा परिवार आशावादी छ।





