अध्यागमन अदालतको नीतिमा परिवर्तन, अनुपस्थितिमै देशनिकाला गर्ने आदेशमा उल्लेख्य वृद्धि
प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार
ट्रम्प प्रशासनले अध्यागमन धरपकडलाई तीव्र बनाउँदै लगेको छ। हतियारसहितका सुरक्षाकर्मी सडकमा देखिनु मात्र होइन, यसको मुख्य कारण अमेरिकाका अध्यागमन अदालतमा आएको अचानक परिवर्तन भएको बताइएको छ।
हालैका महिनाहरूमा अदालतहरूले तीव्र गतिमा सामूहिक सुनुवाइ सञ्चालन गरिरहेका छन्, जसले गर्दा आप्रवासीहरूले आफ्ना मुद्दाको तयारी गर्न पर्याप्त समय पाएका छैनन्। धेरै अवस्थामा आप्रवासीहरू अदालतमा उपस्थित नै नभएको बेला न्यायाधीशहरूले उनीहरूलाई देश निकाला गर्ने आदेश दिइरहेका छन्।
अमेरिकाभरका न्यायाधीशहरूले अभूतपूर्व सङ्ख्यामा अध्यागमन मुद्दाहरू छिटो-छरितो रूपमा टुङ्ग्याइरहेका छन्। गत जुन महिनामा मात्रै १ लाखभन्दा बढी मुद्दाहरू बन्द गरिएका थिए, जसमध्ये अधिकांश फैसला आप्रवासीहरूलाई देश निकाला गर्ने आदेशसँग सम्बन्धित थिए।
हजारौँ मानिसहरूले आफ्नो बचाउमा बोल्ने मौका नै नपाई देश निकालाको आदेश पाएका छन्। त्यस्तै, धेरैलाई एकैपटक भीडभाडयुक्त सुनुवाइमा सामेल गराइयो, जसलाई वकिलहरूले “मेगा-मास्टर्स” नाम दिएका छन्। सिकागोमा एकैजना न्यायाधीशले एकै पटकमा १८५ वटासम्म द्रुत-मार्गका मुद्दाहरूको सुनुवाइ गरे, जबकि पहिले सामान्यतया २० वटा मात्र हुन्थ्यो।
मार्चदेखि जुनसम्मको अवधिमा सिकागोका न्यायाधीशहरूले दिएको देशनिकालाको आदेश १२० प्रतिशतले बढेको छ। गत महिना टुङ्गिएका मुद्दामध्ये ७८ प्रतिशतभन्दा बढी ‘अनुपस्थितिमा देशनिकाला’ को रूपमा समाप्त भए, जहाँ अदालतमा उपस्थित नभएको भन्दै देशनिकालाको निर्णय गरियो।
तर धेरै आप्रवासीहरूका अनुसार उनीहरूलाई अदालतको मिति परिवर्तन भएको पत्र नै प्राप्त भएको थिएन। कतिपय मानिसहरू अदालत परिसरमै पक्राउ परिने डरले उपस्थित हुन सकेनन्। सिकागो अदालतमा एकैपटक ६११ जनासम्मलाई उपस्थित हुन भनिएकाले अदालत परिसरमा भद्रगोलको स्थिति सिर्जना भएको थियो।
सामान्यतया, प्रारम्भिक सुनुवाइमा अधिकारका कुराहरू सुनाइन्थ्यो र प्रमाणहरूको परीक्षण गरिन्थ्यो। तर अहिले यी सुनुवाइहरू निकै जोखिमपूर्ण बनेका छन्। वकिल नभएका र सूचना नपाएका आप्रवासीहरूका लागि आफ्ना शरणका दाबीहरू प्रस्तुत गर्ने मौका गुमेको छ। कानुन व्यवसायीहरूको पहुँच भएका आप्रवासीहरू जम्मा २१ प्रतिशत मात्र छन्।
एकपटक देशनिकालाको आदेश जारी भइसकेपछि प्रहरी वा अध्यागमन अधिकारीहरूसँगको सामान्य सोधपुछ वा ट्राफिक चेकिङका क्रममा पनि आप्रवासीहरू सहजै पक्राउ पर्ने र देशनिकालामा पर्ने जोखिम उच्च बनेको छ।





