न्युयोर्क भ्रमणको तयारीमा नेतान्याहु, मेयर माम्दानीमाथि घृणा फैलाएको आरोप


प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाको न्युयोर्क सिटीका मेयर जोहरान माम्दानी सबै समुदायको मेयर बन्न नसकेको आरोप लगाएका छन्।

उनले भने, “मेयर माम्दानी न्युयोर्कवासी—यहूदी, इसाई, मुस्लिम सबैको मेयर हुनुपर्थ्यो, तर उनले एउटा समुदायलाई अर्को समुदायविरुद्ध उभ्याउने प्रयास गरिरहेका छन्।”

नेतान्याहुले मेयर माम्दानीमाथि घृणा फैलाएको आरोप लगाउँदै थपे, “अहिले न्युयोर्कका यहूदी समुदाय त्रसित छन्।” यता, मेयर माम्दानीको कार्यालयले नेतान्याहुको पछिल्लो टिप्पणीबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

नेतान्याहुले आगामी शरद ऋतुमा संयुक्त राष्ट्रसङ्घ (यूएन) महासभामा सहभागी हुन न्युयोर्क जाने योजनामा रहेको समेत बताएका छन्।

न्युयोर्कका मेयर माम्दानीले यसअघि आफूलाई पक्राउ गर्ने चेतावनी दिए पनि त्यसप्रति आफू चिन्तित नभएको नेतान्याहुले बताएका हुन्।

यसअघि माम्दानीले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले जारी गरेको पक्राउ पुर्जीका आधारमा नेतान्याहुलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका थिए। तर गत साता उनले आफूसँग त्यस्तो पक्राउ गर्ने स्वतन्त्र कानुनी अधिकार नरहेको स्वीकार गरेका थिए।

नेतान्याहुले गत बिहीबार न्युयोर्कमा भएका दुईवटा छुट्टाछुट्टै छुरा प्रहारका घटनाको पनि उल्लेख गरे। प्रहरीका अनुसार एक संदिग्धले केही ब्लकको दूरीमा एक यहूदी पुरुष र एक एसियाली पुरुषमाथि छुरा प्रहार गरेका थिए।

घटनाका क्रममा उनले “अल्लाहु अकबर” भन्दै कराएको आरोप छ। ती दुवै घटनामा उनलाई घृणाजन्य अपराध (हेट क्राइम) अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भाग्यवश दुवै घाइतेको ज्यान बचेको छ। घटनापछि न्युयोर्कका यहूदी तथा एसियाली-अमेरिकी समुदायका नेताहरूले यसको कडा निन्दा गरेका थिए।

प्यालेस्टिनी अधिकारका प्रबल समर्थक मानिने माम्दानीले गत वर्षको चुनावी अभियानमा गाजामा इजरायली सैन्य कारबाहीको विरोधलाई प्रमुख एजेन्डा बनाएका थिए। उनले गत साता नेतान्याहुलाई “युद्ध अपराधी”को संज्ञा दिएका थिए।

चुनावी अभियानकै क्रममा माम्दानीले सन् २०२४ मा आईसीसीले नेतान्याहुविरुद्ध जारी गरेको पक्राउ पुर्जी कार्यान्वयन गर्ने वाचा गरेका थिए। उक्त पक्राउ पुर्जीमा गाजामा युद्ध अपराध गरेको आरोप लगाइएको छ।

तर इजरायलले गाजामा युद्ध अपराध गरेको आरोप अस्वीकार गर्दै आएको छ। नेतान्याहुले पनि ती आरोपलाई “निराधार” र “झुटा” भएको बताएका छन्।

सन् २०२३ अक्टोबर ७ मा हमासको नेतृत्वमा इजरायलमाथि भएको आक्रमणपछि इजरायलले गाजामा सैन्य अभियान सुरु गरेको थियो। उक्त आक्रमणमा करिब १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।

त्यसयता गाजामा इजरायली आक्रमणबाट ७३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २१ हजारभन्दा बढी बालबालिका रहेका छन्। संयुक्त राष्ट्रसङ्घले पनि उक्त मन्त्रालयको तथ्याङ्कलाई सामान्यतया विश्वसनीय मान्दै आएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com