अमेरिकाको टेक्ससमा ७ आप्रवासीको ज्यान लिने तस्करी गिरोहका ११ जनाविरुद्ध मुद्दा दायर
प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार
अमेरिकाको टेक्ससमा हावा आउजाउ नहुने बन्द कन्टेनरभित्र निस्सासिएर सात जना गैरकानुनी आप्रवासीको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ।
अमेरिकी सरकारी अभियोजकहरूका अनुसार मे महिनामा भएको उक्त घटनामा चार जना मेक्सिकन र तीन जना होन्डुरसका नागरिकको ज्यान गएको थियो। मृत्यु हुनेहरूमा १४ वर्षीय एक बालक समेत रहेका छन्।
अभियोगपत्र अनुसार आप्रवासीहरूलाई मेक्सिकोको अकुनाबाट अमेरिका प्रवेश गराउन तस्करहरूले प्रतिव्यक्ति १,५०० देखि १०,००० अमेरिकी डलरसम्म असुल गरेका थिए। मे ९ को दिउँसो तस्करहरूले डेल रियो क्षेत्रमा रोकिएको ‘युनियन प्यासिफिक’ रेलको बन्द कन्टेनरको ताला काटेर उनीहरूलाई भित्र राखेका थिए।
उक्त कन्टेनर भित्रबाट खोल्न नसकिने प्रकृतिको थियो। बाहिरको तापमान ८८ देखि ९२ डिग्री फरेनहाइट करिब ३१ देखि ३३ डिग्री सेल्सियस रहेको अवस्थामा हावा छिर्ने कुनै ठाउँ नहुँदा कन्टेनरभित्रका आप्रवासीहरू निस्सासिएर छटपटाउन थालेका थिए। मृत्यु हुनुअघि एक जना आप्रवासीले आफ्ना परिवारलाई हतास मनस्थितिमा सम्पर्क समेत गरेका थिए।
डेल रियोबाट करिब १५० माइल टाढा रहेको स्यान एन्टोनियोमा रेल पुगेपछि तस्करहरूले कन्टेनर खोलेका थिए। त्यतिवेलासम्म एक जनाको मृत्यु भइसकेको थियो। तस्करहरूले ती व्यक्तिको शव रेलको लिक नजिकै फालेर पुनः ढोका बन्द गरी बाँकी छ जनालाई सोही अवस्थामा छाडेर रेल अगाडि बढाउन लगाएका थिए। पछि लारेड्रोस्थित रेल यार्डमा बाँकी छ जनाको शव फेला परेको थियो।
मानव तस्करीको यो सञ्जालमा संलग्न ११ जनामध्ये चार जना अमेरिकी नागरिक र सात जना मेक्सिको, होन्डुरस तथा ग्वाटेमालाका नागरिक रहेका छन्। उनीहरूले सन् २०२३ को अप्रिलदेखि २०२६ को मे महिनासम्म रेलमार्फत गैरकानुनी आप्रवासी ओसारपसार गर्ने गिरोह चलाउँदै आएको आरोप छ।
अमेरिकी होमल्यान्ड सेक्युरिटी कार्यदलले सञ्चालन गरेको विशेष अभियानका क्रममा हालसम्म ९ जना अभियुक्तलाई पक्राउ गरी थुनामा राखिएको छ। पक्राउ पर्नेहरूमा मेरा अलेहान्ड्रा हुएर्टा, एड्सन अलेहान्ड्रो पेरेज, एरिक हर्नान्डेज, जोनास उल्लोआ-एगुइलेरा, फ्रान्कलिन विलियम्स आयला एगुइलेरा, मारिया नोर्मा नेरी डे मोरान, डामियान हुएर्टा एनालुकास, रोसारियो क्रिस्टल लोपेज-साल्डाना र पास्कुआल रायमुन्डो लोअर्का रहेका छन्।
घटनामा संलग्न अन्य दुई जना अभियुक्त-३७ वर्षीया क्यारिना गार्सिया र ३५ वर्षीय सेफेरीनो हुएर्टा-क्यासिलास भने अझै फरार रहेका छन्।
पक्राउ परेका र फरार सबै अभियुक्तहरूमाथि मृत्यु गराउने गरी गैरकानुनी आप्रवासी ओसारपसारको षड्यन्त्र र सो कार्यमा सहयोग पुर्याएको अभियोग लगाइएको छ। अभियोग प्रमाणित भएमा उनीहरूलाई जन्मकैदसम्मको सजाय हुन सक्ने अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।





