संघीय निकायको कडाइ पछि ओहायोका व्यावसायिक आप्रवासी चालकहरू बेरोजगारीको जोखिममा


प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार

Photo: Daniel/Unsplash

ओहायो राज्यको मोटर वाहन ब्यूरोले व्यावसायिक चालक अनुमतिपत्र सम्बन्धी नीतिमा कडाइ गरेपछि अमेरिकामा कानुनी रूपमा काम गर्न पाउने केही स्थायी बासिन्दाहरू (ग्रीन कार्ड वाहक) कामविहीन बन्न पुगेका छन्।

संघीय मोटर क्यारियर सुरक्षा प्रशासनको निर्देशन अनुसार ल्याइएको नयाँ नीतिअनुसार अब ओहायो बीएमभीले भौतिक रूपमा म्याद नसकिएको ‘हार्ड कपी’ ग्रीन कार्ड पेस गर्न सक्ने स्थायी बासिन्दालाई मात्र सीडीएल जारी वा नविकरण गर्ने जनाएको छ।

युएससीआइएसमा ग्रीन कार्ड नविकरण वा प्रतिस्थापनको निवेदन दिएर लामो समयदेखि पर्खाइमा रहेका आप्रवासीहरू यस निर्णयबाट प्रत्यक्ष प्रभावित भएका छन्। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले कागजात नविकरणको प्रक्रियामा रहेका व्यक्तिहरूलाई कानूनी स्थिति निरन्तर रहेको पुष्टि गर्ने आधिकारिक ‘एक्स्टेन्सन नोटिस’ जारी गर्दछ। यस्तो कागजात सामान्य सवारी चालक अनुमतिपत्र, रोजगारी तथा अन्तर्राष्ट्रिय यात्राका लागि मान्य भए तापनि ओहायोमा सीडीएल नविकरणका लागि भने स्वीकार गर्न छाडिएको छ।

इमिग्रेशन भिजिटिङ एटोर्नी क्रिस्टोफर पोगका अनुसार, नियमको पालना गरिरहेका र सबै कानुनी प्रक्रिया पूरा गरेका चालकहरू प्रशासनिक ढिलाइका कारण समस्यामा परेका हुन्। हालैका उच्च-जोखिमपूर्ण सडक दुर्घटनापछि व्यावसायिक चालक अनुमतिपत्रमा कडाइ गरिए तापनि यसको मारमा निर्दोष र कानुनसम्मत काम गरिरहेका चालकहरू परेको पोगको भनाइ छ।

यसै नीतिबाट प्रभावित भएका एकजनाले विगत एक वर्षदेखि व्यावसायिक रूपमा गाडी चलाउँदै आएका थिए। तर, म्याद थपिएको आधिकारिक कागजात हुँदाहुँदै पनि बीएमभीले भौतिक ग्रीन कार्ड नभएको भन्दै उनको सीडीएललाई सामान्य लाइसेन्समा घटाइदियो। यस निर्णयका कारण उनले आफ्नो रोजगारी गुमाउनुपरेको छ।

ओहायो बीएमभीले सीडीएल सम्बन्धी कागजातको मापदण्ड संघीय एजेन्सीले तोक्ने भएकाले राज्यस्तरबाट यसमा कुनै छुट वा परिवर्तन गर्न नसकिने स्पष्ट पारेको छ। अर्कोतर्फ, कानुनी व्यवसायीहरूले भने संघीय सरकारले आफ्नो कागजातको सूची परिमार्जन गरी ‘म्याद थपिएका नोटिसहरू’ लाई पनि मान्यता दिएमा यो समस्या तुरुन्तै समाधान हुने बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com