ग्रिन कार्ड अन्तर्वार्ता कक्षबाटै पक्राउ परे बेलायती नागरिक, देश निकालाको तयारी
प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार
फोटो: होमल्याण्ड सेक्युरिटी
नौ वर्षको उमेरदेखि अमेरिकामा बस्दै आएका एक बेलायती मूलका व्यक्तिलाई देश निकाला गर्ने चेतावनीसहित डेढ महिनाभन्दा बढी समयदेखि आइसको हिरासतमा राखिएको छ।
२९ वर्षीय कनर रीडलाई गत जुन ३ मा फ्लोरिडाको टम्पास्थित अध्यागमन कार्यालयमा ग्रिन कार्ड अन्तर्वार्ताका लागि बोलाइएको थियो। अन्तर्वार्ता कक्षबाटै उनलाई आइस एजेन्टहरूले नियन्त्रणमा लिएका थिए। यससँगै उनी आफ्नी २५ वर्षीया पत्नी जेलिन तथा तीन वर्षका जुम्ल्याहा छोराहरू राइडर र ओजीबाट अलग्गिएका छन्।
मूलतः बेलायतको केन्टस्थित च्याथमका रीडलाई सन् २००७ मा उनकी आमा र सौतेनी बाबुले बालबालिकाको रूपमा अमेरिका ल्याएका थिए। उनले अमेरिकामै शिक्षा हासिल गरे र जीवनमा एक पटक मात्र बेलायत फर्किएका थिए।
सन् २०११ मा उनीविरुद्ध देश निकालाको आदेश जारी भएको थियो। तर १६ वर्षको उमेरमा उनलाई ‘डाका’ कार्यक्रमअन्तर्गत संरक्षण प्रदान गरियो। यो नीतिले बाल्यावस्थामा अमेरिका भित्रिएका योग्य व्यक्तिहरूलाई देश निकाला हुनबाट जोगाउनुका साथै काम गर्ने अनुमति दिन्छ।
तर डाकाको संरक्षणमा रहेकै बेला रीड सानातिना कानुनी कसुरमा मुछिएका थिए। लागुऔषधसम्बन्धी उपकरण राखेको, मदिरा सेवन तथा नियन्त्रण र प्रहरी अधिकारीको काममा बाधा पुर्याएको जस्ता अभियोगमा दोषी ठहरिएपछि ट्रम्प प्रशासनले उनलाई अपराधी गैरकानुनी विदेशीको वर्गमा राखेको थियो।
लागुऔषधसम्बन्धी अभियोगकै कारण २२ वर्षको उमेरमा रीडले आफ्नो डाका स्थिति नवीकरण गर्न सकेनन्। सन् २०२० मा अध्यागमन स्थिति अनिश्चित रहेकै बेला उनी डेटिङ एपमार्फत जेलिनसँग भेटिएका थिए। विवाहपश्चात् यो दम्पतीले ग्रिन कार्डका लागि आवेदन दिएको थियो।
जुन ३ मा टम्पास्थित संघीय अध्यागमन भवनमा ग्रिन कार्डको अन्तर्वार्ता भइरहेका बेला चार जना आइस एजेन्टले उनलाई पक्राउ गरी भवनबाहिर लगेका थिए। अध्यागमन अधिकारीहरूले उनकी पत्नी जेलिनलाई उनका श्रीमान् अब घर नफर्किने जानकारी दिएका थिए।
रीडलाई सुरुमा फ्लोरिडाको पिनेलास काउन्टी जेलमा आठ दिन राखियो र पछि हवाईजहाजमार्फत लुइजियानास्थित आइस हिरासत केन्द्रमा सारियो। उनले आफूलाई देश निकाला गर्ने अन्तिम आदेशविरुद्ध पुनरावेदन दिएका छन्, तर यसबारे निर्णय आउन छ महिनासम्म लाग्न सक्ने चेतावनी दिइएको छ।
यस विषयमा आइसका प्रवक्ताले भनेका छन्,संयुक्त अधिराज्यका अपराधी गैरकानुनी विदेशी कनर माइकल रीडलाई जुन ३, २०२६ मा टम्पा, फ्लोरिडाबाट आइस कानुन कार्यान्वयन टोलीले पक्राउ गरेको हो।
उनको आपराधिक पृष्ठभूमिमा लागुऔषध उपकरण राखेको, मदिरा सम्बन्धी कसुर र अधिकारीलाई अवरोध पुर्याएको अभियोगमा सजाय पाएको अभिलेख छ। उनीमाथि जनवरी २०११ मा ओर्लान्डो, फ्लोरिडाका अध्यागमन न्यायाधीशले देश निकालाको अन्तिम आदेश जारी गरेका थिए।
रीड सन् २००७ नोभेम्बर २१ मा एफ-१ भिसावाहकका आश्रितको रूपमा अमेरिका प्रवेश गरेका थिए। उनको भिसा सर्त उल्लङ्घन भएपछि निष्कासन प्रक्रिया सुरु गरिएको हो। होमल्यान्ड सेक्युरिटीका सेक्रेटरी मुलिनको नेतृत्वमा आइसले आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई प्राथमिकताका साथ कारबाही गरिरहेको छ।





