अमेरिकाको फ्लोरिडामा ५ दिने अध्यागमन कारबाही, ३०९ जना कागजातबिहीन आप्रवासी पक्राउ
प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार
तस्वीर : आइस
अमेरिकाको फ्लोरिडास्थित पाम बीच काउन्टीमा सञ्चालन गरिएको पाँच दिने विशेष अध्यागमन कारबाहीका क्रममा गैरकानूनी रूपमा बसोबास गर्दै आएका ३०९ जना पक्राउ परेका छन्।
संघीय २८७जी कार्यक्रम अन्तर्गत जुलाई ६ देखि १० सम्म सञ्चालन गरिएको उक्त अपरेशनमा आइस, अमेरिकी सीमा सुरक्षा बल, फ्लोरिडा हाइवे पेट्रोलको ‘क्रिमिनल एलियन एप्रिहेन्सन टिम’, होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्स र पाम बीच काउन्टी शेर्फिस कार्यालयको संयुक्त सहभागिता रहेको थियो।
कारबाहीबारे बोल्दै एफडीएलईका कमिश्नर मार्क ग्लासले सुरक्षा निकायहरूबीचको साझा सूचना, स्पष्ट सञ्चार र टोलीकार्यले कानुन कार्यान्वयनलाई थप प्रभावकारी बनाएको बताएका छन्।
पक्राउ परेका धेरैजसो व्यक्तिको आपराधिक पृष्ठभूमि रहेको र उनीहरू मादक पदार्थ सेवन गरी सवारी चलाएको, लागुऔषध तस्करी, घरेलु हिंसा तथा ठगी जस्ता अपराधमा संलग्न रहेको बताइएको छ। साथै, केही व्यक्तिहरू यसअघि देशनिकाला भइसकेर पनि पुनः गैरकानूनी रूपमा अमेरिका प्रवेश गरेका थिए।
अपरेशनकै क्रममा जुलाई १० मा लेक वर्थ बीचस्थित ‘एल क्वेत्जल बेकरी’का सञ्चालक तथा ग्वाटेमालाका नागरिक ज्याकोबो जापेटा क्यास्ट्रोलाई पनि पक्राउ गरिएको छ। अध्यागमन अधिकारीहरूका अनुसार उनीसँग वैध कागजात नभएको, आपराधिक रेकर्ड रहेको र उनीमाथि पहिले नै देशनिकालाको अन्तिम आदेश जारी भइसकेको थियो।





