युरोपेली संघमा आप्रवासीहरूको रोजगारीदर अहिलेसम्मकै उच्च विन्दुमा


प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार

तस्बिर : अलेक्जान्द्र लालमाँड / अनस्प्लास

युरोपेली संघमा आप्रवासीहरूको रोजगारीदर सन् २०२५ मा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। यस वृद्धिले स्थानीय र आप्रवासी कामदारहरूबीचको अन्तरलाई साँघुरो बनाएको छ, यद्यपि आप्रवासीहरूको पूर्ण क्षमताको अझै सही उपयोग हुन नसकेको एक अध्ययनले देखाएको छ।

‘रकवुल फाउन्डेसन बर्लिन’ अन्तर्गतको ‘सेन्टर फर रिसर्च एन्ड एनालाइसिस अफ माइग्रेसन’ द्वारा युरोस्टेटको तथ्याङ्कमा आधारित भई तयार पारिएको प्रतिवेदन अनुसार, आप्रवासीहरूको रोजगारीदर सन् २०२४ को ६७.८ प्रतिशतबाट बढेर गत वर्ष ६८.२प्रतिशत पुगेको छ।

‘रकवुल फाउन्डेसन बर्लिन’का उप-निर्देशक तोम्मासो फ्रात्तिनीले भने, रोजगारीमा आप्रवासीहरूको सहभागिता धेरै वर्षदेखि निरन्तर बढिरहेको छ र यो सङ्ख्या स्थानीय जनसङ्ख्याको नजिक पुग्दैछ।

सन् २०१७ देखि २०२५ को बीचमा गैर-युरोपेली आप्रवासीहरूको रोजगारीदरमा ६.६ प्रतिशत विन्दुले वृद्धि भएको छ। यो ५९.४ प्रतिशतबाट बढेर ६६ प्रतिशत पुगेको छ।युरोपेली संघकै अन्य देशबाट आएका आप्रवासीहरूको रोजगारीदर ७१.१ प्रतिशतबाट बढेर ७४.८ प्रतिशत पुगेको छ।

आफ्नै देशमा काम गर्ने स्वदेशी नागरिकहरूको रोजगारीदर सोही अवधिमा ६७.२ प्रतिशतबाट बढेर ७१.६ प्रतिशत पुगेको छ।

विभिन्न देशहरूमा आप्रवासीहरूको रोजगारीको अवस्था भिन्न-भिन्न रहेको छ। माल्टा, चेक गणतन्त्र र आयरल्यान्डमा गैर-युरोपेली आप्रवासीहरूको रोजगारीदर निकै उच्च छ भने बेल्जियम र फिनल्यान्डमा यो दर तुलनात्मक रूपमा कम छ। जर्मनीमा स्वदेशी नागरिकको रोजगारीदर ७९.६ प्रतिशत रहँदा आप्रवासीहरूको रोजगारीदर भने ६६.१ प्रतिशत मात्र छ।

प्रतिवेदन अनुसार, विशेष गरी गैर-युरोपेली मूलका महिलाहरू र उच्च शिक्षित आप्रवासीहरूमा रोजगारीको खाडल अझै पनि उच्च छ।

‘रकवुल फाउन्डेसन बर्लिन’का निर्देशक क्रिस्टियन डस्टमानले भने, अहिलेको मुख्य चुनौती आप्रवासीहरूलाई काममा लगाउनु मात्र नभई उनीहरूको सीप र क्षमताको पूर्ण उपयोग गर्नु हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com