क्यालिफोर्नियाको अवरोधबीच ट्रम्प प्रशासनद्वारा १.५ अर्ब डलरमा दुई निजी हिरासत केन्द्र खरिद


प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार

Texas immigration detention center

क्यालिफोर्निया राज्यका अधिकारीहरूले अध्यागमन हिरासत केन्द्रहरूमा रोक लगाउने प्रयास गरिरहेका बेला ट्रम्प प्रशासनले पश्चिमी तटमा आफ्नो नियन्त्रण र क्षमता सुरक्षित गर्न नयाँ रणनीति अपनाएको छ। प्रशासनले निजी सञ्चालकसँग रहेका भौतिक संरचना सोझै खरिद गर्न थालेको छ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले निजी जेल सञ्चालक कम्पनी ‘कोरसिभिक‘बाट १.५ अर्ब अमेरिकी डलरमा ‘ओटाई मेसा डिटेन्सन सेन्टर’ र ‘क्यालिफोर्निया सिटी डिटेन्सन फेसिलिटी’ खरिद गरेको छ। क्यालिफोर्निया राज्य सरकारले नयाँ तथा पुराना आइस हिरासत केन्द्रहरूमा खडा गरेको राजनीतिक अवरोधको प्रत्यक्ष जवाफस्वरूप यो कदम चालिएको सरकारी अधिकारीहरूले बताएका छन्।

आइसका प्रवक्ता जेसन स्विनीले क्यालिफोर्नियाका हिरासत केन्द्रहरू पश्चिमी तटमा आइसको नियन्त्रण सञ्जालका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको बताए।

फ्लोरिडा वा ओक्लाहोमा जस्ता राज्यहरूमा जस्तै क्यालिफोर्नियामा आइसले स्थानीय राज्य तथा काउन्टी साझेदारहरूमाथि निर्भर हुन सक्दैन, स्विनीले भने, यहाँका राजनीतिज्ञहरूले निजी जेलहरूलाई गैरकानुनी बनाउन वा आर्थिक रूपमा असक्षम पार्न निरन्तर कानुन ल्याइरहेका छन्।

यो विवाद पहिलो ट्रम्प प्रशासनको समयदेखि चल्दै आएको हो। सन् २०१९ मा क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले सन् २०२८ सम्ममा नाफामूलक निजी जेल र अध्यागमन हिरासत केन्द्रहरूलाई पूर्ण रूपमा विस्थापित गर्ने कानुन पारित गरेका थिए। तर, निजी जेल सञ्चालक ‘जियो ग्रुप’  र सङ्घीय सरकारले अदालतमा मुद्दा हालेपछि सन् २०२२ मा नवौँ सर्किट अपिल अदालतले राज्यको उक्त प्रतिबन्ध खारेज गरिदिएको थियो।

अदालतको उक्त निर्णयपछि पनि क्यालिफोर्नियाका विधायकहरूले निजी हिरासत केन्द्रहरूमा भारी कर लगाएर तिनलाई आर्थिक रूपमा सञ्चालन गर्न असम्भव बनाउने जस्ता नयाँ नीतिहरू ल्याएका छन्।

निजी हिरासत केन्द्र खरिदको निर्णय क्यालिफोर्नियाका एटर्नी जनरल रोब बोन्टा र ट्रम्प प्रशासनबीच जिलरोय शहर नजिकै निर्माण हुन लागेको नयाँ आइस कार्यालयलाई लिएर भइरहेको कानुनी लडाइँकै बिचमा आएको हो। राज्य सरकारको तर्क अनुसार उक्त जमिन सन् १९६७ देखि कृषि प्रयोजनका लागि मात्र तोकिएको हो। बोन्टाले आइसले वातावरणीय प्रभावको अध्ययन नगरी निर्माण सुरु गरेर सङ्घीय कानुन उल्लङ्घन गरेको आरोप लगाएका छन्।

यसका साथै, क्यालिफोर्नियाका अधिकारीहरूले स्वास्थ्य तथा अनुगमन कानुन प्रयोग गरी हिरासत केन्द्रहरूमा प्रवेश गर्न खोजिरहेका छन्। पूर्व आइस अधिकारी क्लेयर ट्रिकलर-मेकनल्टीका अनुसार, सङ्घीय सरकार आफैँले यी भवनहरू खरिद गरेपछि अब राज्यका वातावरणीय, जोनिङ र स्वास्थ्यसम्बन्धी कानुनहरूबाट ती हिरासत केन्द्रहरूले उन्मुक्ति पाउनेछन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काउन्टी मूल्याङ्कन तथ्याङ्क अनुसार सङ्घीय सरकारले यी जग्गा तथा भवनका लागि बजार मूल्याङ्कनभन्दा निकै बढी रकम भुक्तानी गरेको छ। सान डिएगो काउन्टीमा रहेको ओटाई मेसा हिरासत केन्द्रको कर मूल्याङ्कन रकम १६४.९ मिलियन डलर रहे पनि सङ्घीय सरकारले त्यसको झन्डै ४.५ गुणा अर्थात् ७३९.२ मिलियन डलर तिरेको छ।

त्यस्तै, कर्न काउन्टीस्थित क्यालिफोर्निया सिटी हिरासत केन्द्रको कर मूल्याङ्कन १७१.५ मिलियन डलर रहेकोमा सरकारले करिब ४.३ गुणा बढी अर्थात् ७३२.६ मिलियन डलर भुक्तानी गरेको छ। यद्यपि, कोरसिभिक कम्पनीका प्रवक्ता स्टेभन ओवेनका अनुसार क्यालिफोर्नियाको ‘प्रोपोजिसन १३’ कानुनले गर्दा कर मूल्याङ्कन रकम र वास्तविक बजार मूल्यबिच ठूलो अन्तर हुने गर्दछ।

सङ्घीय सरकारलाई भवन बेचे तापनि कोरसिभिकले सेक्युरिटी एन्ड एक्सचेन्ज कमिसनमा पेस गरेको विवरण अनुसार ती केन्द्रहरू सञ्चालन गरेबापत वार्षिक थप १३० मिलियन डलर कमाउने अपेक्षा गरेको छ।

अमेरिकी अध्यागमन काउन्सिलका वरिष्ठ शोधकर्ता आरोन रेचलिन-मेल्निकका अनुसार यसअघि गोदामहरूलाई ठूला हिरासत केन्द्रमा ढाल्ने महत्वाकांक्षी योजना कानुनी झन्झट र जनशक्ति अभावका कारण असफल भएपछि सङ्घीय सरकारले मौजुदा भौतिक संरचना नै खरिद गर्ने यो नयाँ बाटो रोजेको हो।

अध्यागमन अधिवक्ता आर. एन्ड्र्यु फ्रिका अनुसार सङ्घीय सरकारको यो खरिदले निजी जेल कम्पनीहरूलाई आर्थिक जोखिमबाट जोगाएको छ भने राज्य तथा स्थानीय निकायहरूलाई ती हिरासत केन्द्रहरूको नियमित अनुगमन गर्नबाट लगभग पूर्ण रूपमा बाहिर पारिदिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com