न्यु जर्सीमा सफ्टवेयर त्रुटि: ६,६०० गैर-नागरिक गल्तीले मतदाता नामावलीमा दर्ता, ४०० जनाद्वारा मतदान
प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार
Photo: Unseen Histories/ Unsplash
न्यु जर्सी राज्यमा सफ्टवेयरको गम्भीर त्रुटिका कारण करिब ६,६०० गैर-अमेरिकी नागरिकहरू गल्तीले मतदाता नामावलीमा दर्ता भएको खुलासा भएको छ। गभर्नर मिकी शेरिलका अनुसार तीमध्ये करिब ४०० जनाले विभिन्न चुनावहरूमा मतदानसमेत गरिसकेका छन्।
गभर्नर शेरिलले मंगलबार जानकारी दिँदै यो त्रुटि सन् २०२३ जुनदेखि २०२४ जुनसम्म ‘न्यु जर्सी मोटर भेइकल सिस्टम’मा आएको प्राविधिक खराबीका कारण भएको बताइन्। सवारी चालक अनुमतिपत्र वा परिचयपत्रका लागि आवेदन दिँदा ती व्यक्तिहरूले नागरिकतासम्बन्धी प्रश्नमा ‘होइन’ भन्ने विकल्प चुनेका थिए। तर, प्रणालीको गल्तीले गर्दा उनीहरू स्वचालित रूपमा मतदाताका रूपमा दर्ता हुन पुगेका थिए।
यसमा ती सर्वसाधारणको कुनै दोष छैन, गभर्नर शेरिलले भनिन्, कुनै पनि चुनावको नतिजा प्रभावित भएको प्रमाण भेटिएको छैन। मतदाता नामावलीबाट उनीहरूको नाम हटाउने काम भइरहेको छ।
यस घटनालाई लिएर जस्टिस डिपार्टमेन्टले छानबिन सुरु गरेको छ। सहायक महान्यायाधिवक्ता हरमीत ढिल्लोनले राज्य सरकारसँग दर्ता भएका ६,६०० जना र मतदान गर्ने ४०० जनाको पूर्ण विवरण माग गरेकी छन्।
यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यस घटनालाई उद्धृत गर्दै मतदानका लागि फोटो परिचयपत्र र नागरिकताको प्रमाण अनिवार्य गराउने ‘सेभ अमेरिका एक्ट’ पारित गर्नुपर्ने माग थप जोडतोडका साथ उठाएको छ।
राज्य सरकारले उक्त त्रुटिका लागि जिम्मेवार सफ्टवेयर प्रदायक कम्पनी ‘आइडिमिया’ लाई हटाउने र आफ्नै तर्फबाट विस्तृत छानबिन गर्ने जनाएको छ।





