न्युयोर्क अध्यागमन भवन बाहिर आगजनी गर्ने पूर्व अमेरिकी सैनिक जेल चलान
प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार
म्यानहटनस्थित अध्यागमन अदालत तथा संघीय कार्यालय भवन बाहिर आगजनी र आक्रमण गरेको आरोपमा एक पूर्व अमेरिकी सैनिकलाई प्रहरीले पक्राउ गरी धरौटीविहीन हिरासतमा पठाएको छ।
४३ वर्षीय एन्ड्र्यु अराबाकाले सोमबार बिहान ‘२६ फेडरल प्लाजा’ स्थित भवन बाहिर ग्यासोलीन खन्याएर आगो बालेका थिए। साथै, उनले पटाका पड्काउनुका साथै पेलेट गनबाट गोली समेत चलाएका थिए।
सरकारी वकिल सामन्था फ्राईका अनुसार अराबाकाले यो आक्रमणको योजना विगत केही महिनादेखि बनाइरहेका थिए। आक्रमणका क्रममा अरू मानिसको ज्यान जान सक्ने र आफ्नो समेत मृत्यु हुन सक्ने कुरा उनलाई थाहा भएको बयान उनले दिएका छन्।
यस आक्रमणमा परी अध्यागमन अदालतमा पेसीका लागि आएका एक जनासहित तीन जना सामान्य घाइते भएका छन्। उक्त भवनमा अध्यागमन अदालतका अलावा आइस र एफबीआईको कार्यालय समेत रहेको छ।
अराबाकालाई नियन्त्रणमा लिने क्रममा उनीबाट बन्चरो, चक्कु, हथौडा, म्याचेटे र हाम्रा सडकबाट आइस हटाउ लेखिएको ब्यानरसहितको सानो गाडी बरामद गरिएको छ। पक्राउ पर्ने क्रममा उनले अमेरिका र सरकार विरोधी अभिव्यक्ति दिएका थिए।
अमेरिकी म्याजिस्ट्रेट न्यायाधीश रोबिन एफ. टार्नोफस्कीले अराबाकालाई ब्रोकलिनस्थित संघीय जेलमा राख्न आदेश दिएकी छन्। प्रतिवादीका वकिलले उनलाई मानसिक स्वास्थ्य उपचारका लागि अस्पताल पठाउन अनुरोध गरे पनि न्यायाधीशले सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै जेलभित्रै स्वास्थ्य परीक्षण गराउन निर्देशन दिएकी छन्।
अराबाकाले सन् २००१ देखि २००४ सम्म अमेरिकी सेनामा ‘प्याट्रियट मिसाइल सिस्टम’ मर्मतसम्भार सम्बन्धी काम गरेका थिए। हाल उनी घरविहीन भई गाडीमा बस्दै आएका थिए।
अदालतमा दर्ता भएको सरकारी सम्पत्तिमा आगजनी तथा क्षति पुर्याएको अभियोगमा दोषी ठहरिए उनलाई कम्तीमा ७ वर्षको जेल सजाय हुन सक्नेछ।





