विश्वकप फुटबल: ब्राजिलको पहिलो जित, हाइटी बाहिरियो


प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार

फोटो :एपी/रासस

विश्वकप फुटबल २०२६ मा ब्राजिलले हाइटीमाथि सानदार जित निकालेको छ।

अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको समूह चरणको आफ्नो दोस्रो खेलमा ब्राजिलले हाइटीलाई ३–० गोलअन्तरले पराजित गरेको हो।

ब्राजिलका लागि खेलको २३ औँ मिनेटमा माथेउस कुन्हाले गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले ३६ औँ मिनेटमा थप एक गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर बनाए। त्यसपछि भिनिसियस जुनियरले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै ब्राजिललाई ३–० को स्थितिमा पुर्‍याए।

हाइटीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेन। ब्राजिलले गरेका अन्य दुई गोलले भने अफसाइडका कारण मान्यता पाएनन्।

जितसँगै समूह ‘सी’ मा रहेको ब्राजिल दुई खेलमा चार अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। योसँगै पाँचपल्टको विश्व च्याम्पियन ब्राजिलले अन्तिम ३२ मा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।

समान चार अङ्क नै जोडेको मोरक्को गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। दुई खेलमा तीन अङ्क जोडेको स्कटल्यान्ड तेस्रो र जितविहीन हाइटी चौथो स्थानमा छ।

यससँगै लगातार दोस्रो हार बेहोरेको हाइटीको भने नकआउट चरणमा पुग्ने सम्भावना समाप्त भएको छ। अब समूह ‘सी’ को अन्तिम खेलमा ब्राजिलले स्कटल्यान्डको र मोरक्कोले हाइटीको सामना गर्न बाँकी छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com