बालकृष्ण ढुंगेलः डेराबाट निस्किनासाथ ‘दाह्रीवाल’को फन्दामा


प्रकाशित मिति : कार्तिक १४, २०७४ मंगलबार

१४ कात्तिक, काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका माओवादी नेता बालकृष्ण ढुंगेल मंगलबार दिउँसो साथीलाई भेट्न भन्दै सातदोबाटोस्थित डेराबाट बाहिर निस्किए । सातदोबाटो चोकबाट केही भित्री गल्लीमा उनको डेरा थियो ।

ढुंगेल आफ्नो डेराबाट बाहिरमात्रै के निस्किएका थिए, ४/५ जना व्यक्तिहरुले उनलाई घेरे । सिभिल ड्रेसमा रहेका उनीहरु प्रहरी थिए । रातो ज्याकेट लगाएका र केहीले दाह्रीसमेत पालेका थिए ।

‘तपाई हाम्रो अफिसमा जानुपर्‍यो, तपाईलाई लिएर आउनु भन्नुभएको छ’ दाह्रीवालमध्येका एक व्यक्तिले यसो भनेपछि ढुंगेलले गोजीबाट मोबाइल फोन निकालेर कसैलाई फोन गर्न खोजे । तर, प्रहरीले फोन गर्न दिएन ।

प्रहरीले ढुंगेललाई त्यहाँबाट चोकतिर लग्यो र गाडी चढाएर हेडक्वार्टरमा पुर्‍यायो । ढुंगेलका आफन्तले अनलाइनखबरलाई दिएको जानकारी अनुसार यो घटना करिब साढे ११ बजेतिरको हो ।

सातदोबाटोमा भूमिगत बसाइ

ओखलढुंगाका पूर्वसभासद समेत रहेका ढुंगेलकी पत्नी र परिवारका सदस्यहरु कपनमा बसोबास गर्छन् । उनीचाहिँ सुरक्षाको कारण देखाउँदै कपनमा नबसी सातदोबाटोमा डेरा लिएर बस्दै आएका थिए । उनको डेरामा भाइ बहिनीसहित ३/४ जना बस्दै आएका थिए ।

ढुंगेललाई प्रहरीले पक्राउ गर्नासाथ उनका भाइले विनाविभागीय गृहमन्त्री जनार्दन शर्मालाई टेलिफोन गरेर जानकारी दिएका थिए । त्यसलगत्तै ढुंगेल पक्राउ परेको खबर माओवादी हेडक्वार्टरमा पुगेको थियो ।

माओवादी नेताहरुले ढुंगेलको गिरफ्तारीलाई शान्ति प्रक्रियामाथिको हस्तक्षेपमा रुपमा प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

पारिवारिक स्रोतका अनुसार पक्राउ परेका ढुंगेलको एउटा मृगौला ड्यामेज भएको छ भने अर्कोले पनि थोरैमात्रै काम गरिरहेको छ । मृगौलापीडित ढुंगेलले ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गराएर नियमित औषधि सेवन गर्दै आएका थिए ।

ढुंगेल पक्राउ परेको घटनाका प्रत्यक्षदर्शी उनका नातेदारले भने- ‘किड्नी र ब्लड प्रेसरको औषधि खाइरहनुभएको थियो, औषधि पुर्‍याइदिन फोन गर्दा उहाँका दुबै फोन स्वीच्ड अफ भनेकाले सम्पर्क गर्न पाइएको छैन ।

ढुंगेल द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले दिएको आदेशका आधारमा पक्राउ परेका हुन् । उनीमाथि ओखलढुंगाको पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्बोच्च अदालतबाट सर्वस्वसहित जन्मदकैदको सजायँ तोकिएको थियो । सर्वोच्चले सजायँ तोके पनि उनी अहिलेसम्म पक्राउ परेका थिएनन् ।

ओखलढुंगा २ बाट ०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला अदालतबाट दोषी ठहर भएका थिए । उनीसँगै सजायँ तोकिएका पूर्वमाओवादी कार्यकर्ता पुष्कर गौतम अहिले जेलमै छन् ।

उज्जनकुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले ढुंगेल विरुद्ध मुद्दा दायर गरेकी थिइन् । तर, उनी पक्राउ नपरेपछि हालै अधिवक्ता दिनेश त्रिपाठीले उनलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

ढुंगेलको सजायँ माफीका लागि तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको थियो । तर, सर्बोच्च अदालतले सो सिफारिस अस्वीकार गरेपछि ढुंगेल फरार अभियुक्तका रुपमा रहेका थिए ।

माओवादी नेताहरुले भने द्वन्द्वकालीन घटनाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगबाट गरिनुपर्ने भन्दै ढुंगेलको बचाऊ गर्दै आइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com