विश्वकप फुटबल: आयोजक अमेरिकाको सानदार जित


प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार

फोटो: एपी/रासस

विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको प्रतिस्पर्धामा आयोजक अमेरिकाले सानदार जित निकालेको छ।

अमेरिकाले पाराग्वेलाई ४–१ गोल अन्तरले हराएको हो। अमेरिकास्थित लस एन्जलस स्टेडियममा समूह ‘डी’ अन्तर्गत अमेरिका र पाराग्वेबीच खेल भएको हो।

अमेरिकाका लागि फ्लोरिन बालोगनले दुई गोल गरेका थिए। उनको गोलको मद्दतले अमेरिका पहिलो हाफमै ३–० गोलले अगाडि रहेको थियो।

खेलको सातौँ मिनेटमै पाराग्वेका डामिन बोबाडिलाले आत्मघाती गोल गरेपछि अमेरिकाले अग्रता लिएको थियो। दोस्रो हाफको ७३औँ मिनेटमा पाराग्वेका मउरिसो मागाल्हासले एक गोल फर्काए पनि त्यो जितका लागि भने पर्याप्त हुन सकेन।

खेलको अन्तिम मिनेटमा अमेरिकाका जियोभानी रेनाले थप १ गोल गरेपछि अमेरिकाले आफ्नो गोल संख्या ४ पुर्‍याएको हो। यो अमेरिकाले कुनै पनि विश्वकपको एउटा खेलमा गरेको सबैभन्दा धेरै गोलको रेकर्ड पनि हो।

अमेरिकाले घरेलु भूमिमा ३२ वर्षपछि विश्वकपको पहिलो खेल खेलेको हो। जितसँगै अमेरिका समूह ‘डी’ मा ३ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। उक्त समूहमा अमेरिका र पाराग्वेसहित अस्ट्रेलिया र टर्की छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com