कारबाहीको डरले अध्यागमन वकिलको राजीनामा, ३५ हजारभन्दा बढी सेवाग्राही संकटमा


प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार

selective focus photography of three books beside opened notebook

फोटो: मिखाइल पाभस्ट्युक/ अनस्प्लास

अमेरिकाको वासिङ्टन राज्य अन्तर्गत ट्युक्विल्लामा कार्यरत एक चर्चित अध्यागमन वकिल अलेक्जान्ड्रा लोजानो केनेडीले आफूविरुद्ध लागेको व्यावसायिक दुराचारको उजुरी र संघीय मुद्दाको कारबाहीबाट बच्न आफ्नो वकालत इजाजतपत्र त्यागेकी छिन्।

यस हप्ता उनले दिएको राजीनामासँगै उनीमाथि स्थायी रूपमा वकालत गर्न प्रतिबन्ध लगाइएको छ। केनेडी र उनको ल फर्मसँग ३५ हजारभन्दा बढी सेवाग्राही आवद्ध रहेको र तीमध्ये ठूलो संख्या ओरेगन राज्यमा रहेको बताइएको छ।

वासिङ्टन स्टेट बार एसोसिएसनको अनुशासन बोर्डले दर्ता गरेको उजुरी लगत्तै केनेडीले स्वेच्छिक राजीनामा दिएकी हुन्। बोर्डको उजुरी अनुसार केनेडीले आफ्ना कर्मचारीहरूलाई सम्भावित सेवाग्राहीहरूसँग झूटो र भ्रमपूर्ण कुराकानी गर्न दबाब दिएको, अयोग्य व्यक्तिहरूको नाममा अध्यागमन लाभका लागि आवेदन दर्ता गराएको, र गैर-कानुनी रूपमा बिना-लाइसेन्सका व्यक्तिहरूलाई कानुनी काममा लगाएको आरोप छ।

यसका साथै उनले कामै नगरी चर्को शुल्क असुल गरेको र कागजातहरूमा आफ्नो कीर्ते हस्ताक्षर गराएको समेत भेटिएको छ। हाल यूएससीआईएसमा उनको हस्ताक्षर भएका ५३,९२३ वटा निवेदनहरू विचाराधीन अवस्थामा छन्।

यो ठगी धन्दाको प्रभाव ओरेगन र क्यालिफोर्नियाका ग्रामीण तथा विपन्न क्षेत्रमा बढी देखिएको छ, जहाँ केनेडीले सामाजिक सञ्जाल र भ्रमणका माध्यमबाट ग्राहकहरू बटुलेकी थिइन्। कतिपय पीडित सेवाग्राहीहरू अहिले देस निकालाको प्रक्रियामा परेका छन्।

ओरेगनका अध्यागमन वकिल केभिन स्टाउटले सन् २०२४ मै यसबारे बार एसोसिएसनमा उजुरी दिए पनि सुनुवाइ ढिलो भएको भन्दै नियामक निकायको आलोचना गरेका छन्। हाल डोनाल्ड ट्रम्प प्रशासनको कडा अध्यागमन नीतिका कारण पीडितहरू थप मारमा परेका छन्।

यता केनेडीको ल फर्मले भने आफ्ना ग्राहकहरूको मुद्दा सुरक्षित रहेको र अनुभवी टोलीले काम गरिरहेको दाबी गरेको छ। केनेडी आफैंले भने आरोपहरूको सत्यतालाई अस्वीकार गरे पनि कानुनी प्रतिरक्षा नगर्ने निर्णयसहित स्थायी राजीनामा दिएकी हुन्।

वासिङ्टन स्टेट बार एसोसिएसनले पीडित ग्राहकहरूलाई आफ्ना कानुनी फाइलहरू फिर्ता माग्न र राज्यको ‘क्लाइन्ट प्रोटेक्सन फन्ड’ (जसमा ६० लाख डलरभन्दा बढी रकम छ) मार्फत राहतका लागि आवेदन दिन आग्रह गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com