‘अमेरिकी कूटनीतिज्ञमाथि आक्रमण भएको छैन’
प्रकाशित मिति : कार्तिक १२, २०७४ आईतबार

क्युबाले हवानास्थित अमेरिकी दूतावासका कर्मचारीमाथि ध्वनि आक्रमण नभएको भन्दै द्वीपक्षीय ‘सम्बन्ध बिगार्ने उद्देश्यले’ त्यस्तो दाबी गरिएको बताएको छ।
क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगुएजले आक्रमणसम्बन्धी आरोपहरु ‘पूर्णतः झुटा’ भएको दाबी गरे।
त्यस्ता आक्रमणपछि आफ्ना करिब दुई दर्जन कर्मचारीमा स्वास्थ्य समस्या देखिएको अमेरिकाले बताउँदै आएको छ।
आक्रमणका घटनापछि अमेरिकाले हवानास्थित दूतावासका कर्मचारी कटौती गरी स्वदेश फिर्ता बोलाइसकेको छ।
क्युबाका कूटनीतिज्ञलाई देश छाड्न आदेश
अस्वीकार
अमेरिकाले एकप्रकारको ध्वनि आक्रमणमा परेर आफ्ना कर्मचारीहरु बिरामी परेको बताउने गरे पनि त्यो अझै प्रमाणित हुन सकेको छैन।
वाशिङटनले आक्रमणका लागि हवानामाथि आरोप नलगाए पनि क्युबाली यसअघि पनि त्यसमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो।
आफ्ना कूटनीतिज्ञलाई हवानाले सुरक्षा दिन नसकेको भन्दै अमेरिकाले हालै १५ जना क्युबाली कूटनीतिज्ञलाई देश निकाला गरेको थियो।
क्युबाले अमेरिकी कदम ‘अनुपयुक्त’ भएको प्रतिक्रिया दिएको थियो।
सम्बन्ध
दूतावासका कर्मचारीहरु आक्रमणमा परेपछि अमेरिकाले हवानाबाट भिसा प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिसकेको छ।
अमेरिकामा बस्दै आएका क्युबालीहरुको एउटा बैठकलाई वाशिङटनमा सम्बोधन गर्दै विदेशमन्त्री रोड्रिगुएजले क्युबामाथिको आरोपले ‘दुई देश र सरकारहरुबीचको सम्बन्धमा समस्या निम्त्याएको’ बताए।
उनले भने, “यो क्युबाली सरकारको दृष्टिकोणबाट र सरकारहरुबीचको मतभेदका कारण प्रभावित हुने मान्छेहरुका लागि अस्वीकार्य र अनैतिक छ।”
ध्वनि आक्रमणमा परेकाहरुमा मानसिक समस्या र श्रवण क्षमतामा समस्या देखिएको बताइएको छ।