ट्रम्प प्रशासनमा हलचल: सीमा सुरक्षा प्रमुख ब्याङ्क्सले पनि पद छाडे  


प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार

अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) का प्रमुख माइकल ब्याङ्क्सले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा तत्काल लागू हुने जानकारी दिएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि ब्याङ्क्स सो पदमा नियुक्त भएका थिए। उनको बहिर्गमन ट्रम्प प्रशासनको आप्रवासन नीतिसम्बन्धी टोलीमा भएको पछिल्लो फेरबदल हो। यसअघि राष्ट्रपति ट्रम्पले गृह सुरक्षा मन्त्री क्रिष्टी नोयमलाई बर्खास्त गरेका थिए भने सीमा सुरक्षा कमाण्डर ग्रेग बोभिनोले पनि पद छाडिसकेका छन्।

अत्यन्त असुरक्षित, अव्यवस्थित र अराजक सीमालाई फेरि सही दिशामा ल्याएको दाबी गर्दै ब्याङ्क्सले अहिले देशको इतिहासमै सीमा सबैभन्दा सुरक्षित बनेको बताएका छन्।

उनले कर्मचारीहरूलाई राजीनामा पत्र पठाउँदै अब आफू गृहराज्य टेक्सास फर्किन लागेको जानकारी दिएका हुन्। उक्त पत्रमा ब्याङ्क्सले पछिल्लो डेढ वर्षको उपलब्धिलाई “अविश्वसनीय” भनेका छन्।

सीबीपी आयुक्त रोड्ने स्कटले ट्रम्प प्रशासनको कठिन सीमा सुरक्षा अवस्थाका बीच पुनः सेवामा फर्किएकोमा ब्याङ्क्सलाई धन्यवाद दिँदै उनको दोस्रो अवकाशका लागि शुभकामना दिएका छन्।

यसअघि सीबीपी प्रमुखको पदमा लामो अनुभव भएका वरिष्ठ अधिकारीहरू नियुक्त हुने परम्परा थियो। तर, ब्याङ्क्स टेक्सासका गभर्नरको सीमा मामिला सल्लाहकारका रूपमा कार्यरत थिए। त्यसअघि उनले सीबीपी मा मध्यम तहको जिम्मेवारी सम्हालेका थिए।

पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा ब्याङ्क्सले सीमा सुरक्षाबारे डेमोक्र्याट प्रशासनसँग असहमति जनाउँदै सीबीपी छाडेका थिए। त्यसबेला उनले विभागभित्र कर्मचारीको मनोबल खस्किएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

उनको स्थानमा अब कसलाई नियुक्त गरिने भन्नेबारे तत्काल कुनै जानकारी सार्वजनिक गरिएको छैन। ट्रम्पको दोस्रो कार्यकालमा सीबीपी ले लस एन्जलस, शिकागो र मिनियापोलिस जस्ता अमेरिकी सहरहरूमा आप्रवासन नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती अभियान र सीमा सुरक्षा गस्तीको भूमिकामाथि ट्रम्प प्रशासनका आलोचकहरूले कडा प्रश्न उठाउँदै आएका छन्। विशेषगरी जनवरीमा मिनियापोलिसमा संघीय आप्रवासन अधिकारीद्वारा दुई अमेरिकी नागरिक मारिएको घटनापछि आलोचना झन् चर्किएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com