न्यूयोर्कमा चिनियाँ ‘गोप्य पुलिस स्टेशन’ चलाएको मुद्दामा अमेरिकी नागरिक दोषी ठहर
प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार
अमेरिकामा गोप्य “पुलिस स्टेशन” सम्बन्धी मुद्दामा एक अमेरिकी नागरिक नै दोषी ठहर भएका छन्। चिनियाँ सरकारका तर्फबाट सञ्चालन गरिएको पहिलो भनिएको उक्त स्टेशन सम्बन्धी मुद्दामा अमेरिकी नागरिक दोषी पाइएका हुन्।
न्युयोर्कको म्यानहट्टनस्थित चाइनाटाउन क्षेत्रमा सन् २०२२ को सुरुवातमा उक्त स्टेशन सञ्चालन गरेको आरोपमा ६४ वर्षीय लु जियानवाङलाई अदालतले दोषी ठहर गरेको हो। अभियोजन पक्षका अनुसार उनले चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका लागि काम गर्दै अमेरिकाभित्र अवैध रूपमा चिनियाँ सरकारको एजेन्टका रूपमा भूमिका निभाएका थिए।
जुरीले उनलाई चिनियाँ सरकारको अवैध एजेन्टका रूपमा काम गरेको तथा प्रमाण नष्ट गरेर न्याय प्रक्रियामा अवरोध पुर्याएको अभियोगमा दोषी ठहर गरेको हो। केही दिनअघि मात्रै क्यालिफोर्नियाकी एक मेयरले पनि चीनको अवैध एजेन्टका रूपमा काम गरेको आरोप लागेपछि राजीनामा दिएकी थिइन्।
न्युयोर्कको संघीय अदालतमा एक सातासम्म चलेको सुनुवाइपछि आएको यो फैसलासँगै “ह्यारी लु” भनेर चिनिने लु जियानवाङलाई अधिकतम ३० वर्षसम्मको जेल सजाय हुन सक्ने अभियोजकहरूले बताएका छन्। यसै मुद्दाका अर्का आरोपी चेन जिनपिङले डिसेम्बर २०२४ मा चीन सरकारको एजेन्टका रूपमा षड्यन्त्र गरेको आरोप स्वीकार गरिसकेका छन्; उनको सजाय भने अझै तय हुन बाँकी छ।
एफबीआईका सहायक निर्देशक जेम्स सी. बार्नाकल जुनियरका अनुसार लु जियानवाङले न्युयोर्क शहरमा रहेको पुलिस स्टेशन प्रयोग गरेर चीन सरकारको राजनीतिक उद्देश्य पूरा गर्न चिनियाँ असन्तुष्ट तथा आलोचकहरूलाई लक्षित गर्ने गरेका थिए।
मानवअधिकार समूहहरूका अनुसार विश्वभरका ५३ देशमा यस्ता कम्तीमा १०० वटा “गोप्य स्टेशन” सञ्चालनमा रहेको बताइएको छ। उनीहरूले चीनले विदेशमा रहेका चिनियाँ नागरिकहरूलाई निगरानी गर्ने, धम्क्याउने तथा प्रजातन्त्र समर्थक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गर्न यी केन्द्रहरू प्रयोग गरेको आरोप लगाएका छन्।
तर, चीनले भने यी केन्द्रहरू “पुलिस स्टेशन” नभई विदेशमा रहेका आफ्ना नागरिकलाई प्रशासनिक सेवा दिने “सेवा केन्द्र” मात्र भएको दाबी गर्दै आएको छ। चीनका अनुसार यी केन्द्रहरूले महामारीसम्बन्धी सहायता तथा ड्राइभिङ लाइसेन्स नवीकरणजस्ता सेवा प्रदान गर्दै आएका थिए।
न्युयोर्कको चाइनाटाउन क्षेत्रमा रहेको उक्त स्टेशन एउटा रामेन पसलमाथिको तलामा सञ्चालन गरिएको थियो। एफबीआईले अनुसन्धान सुरु गरेपछि सन् २०२२ को अन्त्यतिर यो केन्द्र बन्द गरिएको थियो।





